काठमाडौं, २७ पुस। इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ। हृदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

श्रीमती र छोरीसँग दिल्लिमा बसदै आएका उनको मृत्यु भएको कलाकार एवं निर्माता राजेश घतानीले जानकारी दिए। ‘उहाँ दिल्लीमै हुनुहुन्थ्यो। आज बिहान उहाँको निधन भएको खबर पाएँ। उहाँको परिवार र नजिकका आफन्तबाट मैले यो खबर पाएको हुँ;’ फिल्मकर्मी घतानीले बताए।

श्रीमती एयरहोस्टेस भएको कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि उनकै थियो। उनी छोरीलाई हम्मेसी छाड्दैनथे। यसबीचमा अनगिन्ती कार्यक्रमको अफर आए पनि अस्वीकार गर्दै बसेका थिए, छोरीकै लागी।

अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।