मणिलाल विश्वकर्मा

लहान, २५ पुस। राष्ट्रिय मुसहर संघले सिराहाको कल्याणपुर नगरपालिका– ४, ५ र ८ स्थित मुसहर बस्तीबाट ठेकेदारले भारतको हरियाणा करनालमा बन्धक बनाएर काममा लगाएका पाँच मजदुरको तत्काल उद्धार गरी पीडिलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

संघका केन्द्रीय प्रवक्ता सुलिन्दर सदायले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो करिब चार महिनादेखि परिवारसँग फोन सम्पर्कसमेत गर्न नदिई बन्धक बनाएर काममा लगाइएका मजदुरहरूको तत्काल उद्धार गर्न भारतस्थित नेपाली दूतावासमार्फत कूटनीतिक पहलको माग गरेका हुन्।

GOLBAZAR CHISHO

विज्ञप्तिमा बन्धक बनाइएका मजदुरहरूको उद्धारसँगै पारिश्रमिक, पीडित परिवारलाई उचित क्षतिपूर्ति, सोझा निरक्षर नागरिकलाई लोभ्याएर भारत पुर्‍याई बन्धक बनाएर काम लगाउने श्रीदेव यादव र बसिर मियाँलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरिएको छ। 

‘गरिब र दलित समुदायका व्यक्तिहरूलाई वैदेशिक रोजगारीको नाममा गरिने ठगी र श्रमशोषण रोक्न स्थानीय प्रशासनले निगरानी बढाओस्,’ विज्ञप्तिमा उल्लेख छ। आफ्ना नागरिकहरू विदेशी भूमिममा बन्धक बेपत्ता पारिँदासमेत राज्यका निकायहरू मौन रहेको गुनासो गर्दै संघले माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतवानी दिएको छ।

जिल्लाको सुखीपुर नगरपालिका– ९, मोहनपुर वैसखा गाउँका श्रीदेव भनिने देव यादव र उनका सहयोगी धनुषाको सबैला पटेर्वा घर भई गोलबजार बस्दै आएका बसिर मियाँले कल्याणपुर नगर क्षेत्रका सातजनालाई करनालको सेलर मिल पुर्‍याएका थिए। करनाल पुर्‍याइएका कल्याणपुर– ४, जमुवा टोलका ४६ वर्षीय राम सदा, कल्याणपुर– ५ का २५ वर्षीय रञ्जित सदा, ३३ वर्षीय सिकिन्दर भनिने इन्दल सदा, ४३ वर्षीय उपेन्द्र सदा र कल्याणपुर– ८, बड्कीटोलका ३५ वर्षीय रामकुमार पासवानलाई बन्धक बनाएर ज्यानले समेत धान्न नसक्ने गरी गह्रौँ काममा लगाइरहेको पीडित परिवारले जनाएको छ। 

गह्रौँ काम, राम्ररी खान नदिने र कुटपिटसमेत गरिएपछि उतै बेपत्ता भएका बस्तीका करिब २५ वर्षीय गणेश सदा बाबु नन्दलाल सदाको निधन भएको करनालमै रहेका साथीहरूबाट खबर पाएपछि ऋणसापटी गरेर बिहीबार साँझ घर फर्किएका छन्। उनका अनुसार गाउँबाट गएकाहरूलाई बन्धक बनाएर काममा मात्र लगाइएको छ। खानेकुरा र आराम नहुँदा उपेन्द्र बिरामी परेको उनले बताए।

ठेकेदार यादव र उनका सहयोगी मियाँ पछिल्लो दसैँलगत्तै बस्तीमा पुगेर राम्रो कमाइ हुन्छ भन्दै मासिक भारतीय १० हजार रुपैयाँ तलब दिने गरी मुसहर बस्तीका ब्रह्म मुखियासहित इन्दल, उपेन्द्र, रञ्जित, गणेश, बड्की टोलका रामकुमार र जमुवाका राम भारतको करनाल पुर्‍याइएका थिए। गह्रौँ काम गर्न नसकेपछि ब्रह्म भने करिब एक महिनाअघि भागेर घर फर्किएका थिए। 

जिल्ला प्रहरी कार्यालय सिराहाले मौखिक सहमतिमा भारत लगिएका भनिएका मजदुरहरूको विषयमा जानकारी रहेकाले मातहतको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई घटनाको विषयमा यथार्थ बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउन लेखी पठाइएको जनाएको छ।