रामनारायण ठाकुर
मिर्चैया, २५ पुस। तराई मधेसमा चिसो र शीतलहरका कारण कठ्यांग्रिदो जाडोले जनजीवन प्रभावित भईरहेका बेला लायन्स क्लब अफ मिर्चैया सिटीले सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा तीन दिनको अवधिमा १२२ जनालाई फाइबर सिरक वितरण गरेको छ। चिसो तथा शीतलहरको चपेटामा परेका मिर्चैया नगरक्षेत्रका गरिब, विपन्न समुदायका वृद्धवृद्धा, अशक्त तथा असहाय व्यक्तिहरूलाई १२२ थान फाइबर सिरक वितरण गरिएको हो।
लायन्स क्लब अफ मिर्चैया सिटीका अध्यक्ष रामनारायण साहले मिर्चैया नगरपालिकाका १ देखि १२ नम्वर वडाका चिसो प्रभावित व्यक्तिहरुलाई फाईवर सिरक वितरण जानकारी दिए।
फाइबर सिरक वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठ, लायन्स क्लब अफ मिर्चैया सिटीका पूर्व अध्यक्षहरू अशोक साह, अरुण सिंह, दिनेश साह, डा. शम्भु साह, दिपेश साह, अमर साह, सरोज साह, अनिल पुर्वे, फुलचुन साहलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।






















