सिरहा, २४ पुस। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले निर्वाचन प्रहरी भर्ना तथा नियुक्ति सम्वनिध सूचना प्रकाशन गरेको छ। निर्वाचनमा शान्ति शुरक्षामा थप मदतको लागि निर्वाच प्रहरी भर्ना छानोट तथा नियुक्ति समितिले आज विहिवार सूचना जारी गरेको हो।
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि स्वीकृत ‘निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्वन्धि एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्याविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नु पर्ने भएकोले योग्यता पुगेको नेपाली नागरिकले एकिकृत रुपमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।
जिल्लामा जम्मा तीन हजार ७५७ जना निर्वाचन प्रहरीको माँग गरिएको छ। जसमध्ये नेपाल प्रहरी तर्फ तीन हजार ३७२ र सशस्त्र प्रहरी बल तर्फ ३८५ जनाको माँग गरिएको सूचनामा छ।
साधारण लेखपढ गर्न सक्ने १८ देखि ५४ वर्ष उमेर समूहका योग्यता पुगेका व्यक्तिले भोली पुस २५ गते देखि माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी बल नम्वर ७ हेड क्वाटर सिरहा १९ सनहैठामा निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
























