सिरहा, २२ पुस। प्रदेश सभा सदस्य जिवछी देवी यादवले पहिचानका लागि आन्दोलन गरेका दलको नेतृत्वमा भएको सरकारले पनि दलित र महिलामाथि विभेद गरेको बताए। मुक्ति नेपाल, गोलबजारको १५ औं वर्षिकोत्सव र सामाजिक लेखाजोखा कार्यक्रमलाई सम्वोधन गर्दै उनले अहिले पनि मधेश प्रदेश सरकारमा एक जनामात्र महिला र दलितको अवस्था सून्य रहनु लज्जाको विषय भएको बताएका हुन्।

‘अधिकारको लडाई लडेको दल, जसमा म आफै पनि छु। जसको नेतृत्वमा बनेको सरकारमा एक जना दलित पनि नहुनु र महिलाको ८ प्रतिशतमात्र उपस्थिति रहनु दर्भाग्यको कुरा हो; प्रदेश सभा सदस्य यादवले भनिन। उनले यस्तै स–साना विषयले भदौ २३–२४ को आन्दोलन भएको बताए।
उनले अहिलेको सम्विधानलाई इमान्दारिता पूर्वक कार्यान्व गर्ने, आवश्यक परेका कानुनहरु संशोधन गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुहो भने देश समृद्ध हुने विश्वास व्यक्त गरे।
सोही क्रममा उनले मुक्ति नेपालका कार्यक्रमहरु सराहनिय रहेको बताए। उनले महिला तथा बालबालिकाको सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको बताए।
मुक्ति नेपालले चलाएको सेफ हाउसको प्रशंसागर्दै यसको जिम्मा स्थानीय सरकारले लिनु पर्ने बताए। उनले भने, ‘अपठेरोमा परेका महिलाहरुको लागि मुक्ति नेपालले जुन काम गरेको छ त्यो अत्यन्तै सराहनिय छ। तर, सेफ हाउस भने स्थानीय सरकारले चलाउनु पर्छ। स्थानीय सरकारले चाहेमा आफ्नै भवन बनाएर चलाउन सक्छ, म चलाउन आग्रह पनि गर्छु।’
मुक्ति नेपाल, गोलबजारको १५ औं वर्षिकोत्सव र सामाजिक लेखाजोखा कार्यक्रमलाई गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, नरहा गाउँपालिकाका उपाध्यक्ष गुलावदेवी चौधरी, गोलबजार नगरपालिका वडा नम्वर ३ का अध्यक्ष धनप्रसाद लामा, ६ का संजित लामालगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए।























