रामनारायण ठाकुर
मिर्चैया, २२ पुस। पछिल्लो सातादेखि बढेको चिसो र शीतलहरका कारण कठ्यांग्रिदो जाडोले जनजीवन प्रभावित बनेपछि लायन्स क्लब अफ मिर्चैया सिटीले सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा फाइबर सिरक वितरण गरेको छ।
चिसो र शीतलहरको चपेटामा परेका गरिब, विपन्न समुदायका वृद्धवृद्धा, अशक्त तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी मिर्चैया नगरपालिका वडा १, २, ५, ७ र ८ मा आज जम्मा ५२ थान फाइबर सिरक वितरण गरिएको लायन्स क्लब अफ मिर्चैया सिटीका अध्यक्ष रामनारायण साहले जानकारी दिए।
अध्यक्ष साहका अनुसार लायन्स क्लब अफ मिर्चैया सिटीले मिर्चैया नगरपालिकाका १ देखि १२ वटै वडामा चरणबद्ध रूपमा फाइबर सिरक वितरण गर्ने योजना बनाएको छ।
फाइबर सिरक वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, लायन्स क्लब अफ मिर्चैया सिटीका पदाधिकारीहरू तथा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत चिसोबाट प्रभावित विपन्न वर्गलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।






















