सुरेश राय
सिरहा, २२ पुस। सिरहाको कर्जन्हा नगरपालिका १ बल्टियाका १७ वर्षीया किशोरी अबिना दनुवार (वैद्य) को हत्या घटना संलग्न रहेको आरोपमा ३५ दिनपछी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अबिनाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ का ४५ वर्षीय राम बालक चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका चौधरी र मृतकबीच शव भेटिएको अघिल्लो रात भेटघाट भएको र सोही रात सामान्य विवादका कारण घाँटी थिचेर ढुङ्गाले गालामा हान्दा वेहोस भएपछि उनलाई शव भेटिएको ठाउँ झाडीमा फालेका थिए। त्यसरात उनीहरु पोखरी नजीकै बसेको र त्यहाँ शारिक सम्वन्ध पनि भएको अनुसन्धानको क्रममा चौधरीले बताएको प्रहरीले जानकारी दिए।
सोही क्रममा अविनाले विवाहको प्रस्ताव राख्दा चौधरीले उनको चरित्रमाथि प्रश्न उठाउँदा अविनाले आक्रोश पोखेपछि विवाद बढेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले भने, ‘उनीहरु दुवैजनाको भेट चौधरीको डेरामा भएको थियो, उनीहरु सहमतिमै घटनास्थलसम्म पुगेको र त्यहाँ उनीहरुको सहमतिमै शारिरीक सम्वन्ध भएको त्यसपछि विवादका क्रममा हत्या भएको घटना क्रममाले देखाउँछ।’
कर्जन्हा नगरपालिका १ बलटियाकै १७ वर्षिय अबिनको शव गत मंसिर २२ गते कर्जन्हा नगरपालिका २ स्थित नेपाल फूलकुमारी महतो माध्यमिक विद्यालयको प्राङ्गण नजिकैको झाडीमा फेला परेको थियो।
शव बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको छ। पक्राउ परेका चौधरीलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






















