सिरहा, २१ पुस। सिरहाका सुकुम्बासीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा दिलाइदिने प्रलोभनमा पारेर भूमि समस्या समाधान आयोगका पदाधिकारी, कर्मचारीदेखि स्थानीय जनप्रतिनिधिसम्मको मिलेमत्तोमा लाखौँ रुपैयाँ ठगी गरेको रहस्य बाहिरीएको छ।

68d39384-66ae-478b-8c6d-5f6643b3bfd0

कर्जन्हा नगरपालिका १ रतनपुरका २२ जना सुकुम्बासीसँग भूमि समस्या समाधान आयोगका अध्यक्ष राम अधीन यादव, कर्मचारी राजकुमार राय, कर्जन्हा नगरपालिका १ का वडा अध्यक्ष फनिन्द्र प्रसाद पोखरेको मिलेमत्तोमा स्थानीय यादव प्रसाद सुवेदीलाई परिचालन गरी करिव २७ लाख रकम असुल गरेका हुन्। 

भुमिहिन किसानहरुले जम्मा करिब २७ लाख रुपैयाँ बुझाएको साढे दुई वर्ष बितिसक्दा पनि लापुर्जा पाएका छैनन्। न त बुझाएकै रकम फिर्ता पाएका छन्।

कर्जन्हा नगरपालिका १ रतनपुरका स्थानीय टेकबहादुर श्रेष्ठले ८ कठा १४ धुर जग्गाको १ लाख ७४ हजार रुपैयाँ यादव प्रसाद सुवेदीको घरमै गएर दिएको बताए। उनले रकम बुझाएको लामोसमयसम्म लालपुर्जा हातमा नपरेपछि पटक–पटक बैठक बसे पनि आज–भोलि भन्दै टार्दै आएको बताए।

त्यस्तै अर्की स्थानीय अर्चना भट्टले ८ कठा जग्गालाई नम्बरि बनाइदिने भन्दै प्रति कठा २० हजारका दरले एक लाख ६० हजार रुपैयाँ वडा अध्यक्ष फनिन्द्र पोखरेलले घरमै आएर लगेको बताइन्।

सोममाया मगरले लालपुर्जा पाउने आशामा सहकारीबाट ऋण लिएर ३ कठाका लागि ६० हजार रुपैयाँ बुझाएको बताए। तर अहिले सम्म न लालपुर्जा पाएको न त पैसा फिर्ता आएको  गुनासो गरिन्।

भोजबहादुर श्रेष्ठले ११ कठा जग्गाका लागि दुई लाख २० हजार रुपैयाँ वडा अध्यक्षले भनेका व्यक्ति यादव प्रसाद सुवेदीको खातामा जम्मा गरेको तर अहिलेसम्म कुनै प्रगति नभएको बताए। 

अर्का पीडित अर्जुन बुढाथोकीका अनुसार भूमि आयोग सिरहाको कार्यालयमै ६–७ जनाले एकै पटक रकम बुझाएका थिए। त्यसपछि वडा कार्यालयमा राजस्वसमेत बुझाइएको भए पनि दुई वर्ष बितिसक्दा कुनै काम नभएको बताए।

स्थानीय अगुवा धुर्व बोहरा क्षेत्रीले भूमि आयोगका अध्यक्ष रामअधीन यादव र कर्मचारी राजकुमार राय स्वयम् आएर रकम उठाउन निर्देशन दिएको दाबी गरे। उनका अनुसार करिब ७ लाख रुपैयाँ अध्यक्ष यादवले र १६ लाख रुपैयाँ कर्मचारी रायले लगेको आरोप छ। 

राजकुमार रायलाई प्रहरीले गत साउन २५ गते ठगी तथा किर्ते आरोपमा पक्राउ गरी पूर्पक्षकालागि कारागार चलान गरेको छ। सोही आरोपा लागेका अध्यक्ष यादव भने सम्पर्कविहीन छन्।

पीडितरुसँग २०७९ सालमा आयोगका अध्यक्ष यादवसँगको सहल्लाहमा प्रति कठा २० हजार रुपैयाँका दरले स्थानीय सुकुम्वासीसँग रकम असुल गरेर आयोगका अध्यक्षसहितलाई बुझाएको सुवेदीले स्वीकार गरे। उनले भने, ‘मैले उहाँहरुसँगैको सल्लाहमा रकम असुल गरेर बुझाएको हो, म अझैपनि अध्यक्षको सम्पर्कमा छु, उहाँले काम गराउँछु भन्नु भएको छ। मलाई अझै विश्वास छ, लालपुर्जा दिन्छन्।’

यता, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेलले भने, ‘मैले पनि समाजिक संजालबाट घटना बारे थाह पाएको छु, घटनामा संघलन रहेका ब्यक्ति र पीडित पक्षहरुलाई बोलाएर छलफल गरेर बुझ्ने प्रयास गर्छौं, कतिपयले अहिले राजनिती प्रतिसोधका कारण पनि आरोप लगाउने गरेको छ। अधार खोज्ने प्रयास गर्छांै, अधार भेटएमा नेपाल सरकारले कानुनी बमोजिम कार्वाहि गर्ला, पहिला बुझ्ने प्रयास गर्छु।’

यस विषयमा बुझ्न वडा अध्यक्ष आईतवार वडा कार्यालय पुग्दा उनी भेटिएनन्। फोन सम्पर्क गर्दा पनि उनको फोन स्वीच अफ छ।  

कर्जन्हा नगरपालिकाका भूीम समस्या समाधान आयोगका कर्मचारी कामेश्वर यादवले आफूलाई यस सम्वन्धमा कुनै जानकारी नभएको बताए। उनले भने, ‘आयोगले मलाई कुनै रकम असुल गर भनेर पत्र पठाएको छ नत, मैले उठाएको छु। मैले कागजी प्रकृया पुरागरान पुलको काम गर्ने हो। अन्य विषय मलाई जानकारी भएन।’