काठमाडौं, २० पुस। २३–२४ भदौको घटनाबारे बुझ्न गठित जाँचबुझ आयोगले वयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएको छ। आयोगका सदस्य विज्ञानराज शर्माले ओलीको गुन्डुस्थित निवासमै पुगेर पत्र बुझाएको पुष्टि गरे।
पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ। आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग गत बुधबार बयान सकेको थियो।
आयोगले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बयानका लागि पत्राचार गरिसकेको छ। आयोगले यसअघि फिल्डमा खटिएका सुरक्षाकर्मी हुँदै नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान लिइसकेको छ।
आयोगले सुरुमा २४ भदौमा भएको क्षतिको विवरण संकलन गरेको थियो। त्यसपछि ६ असोजमा आयोगले प्रहरी प्रधान कार्यालयसँग २३ र २४ भदौमा फिल्डमा खटिएका जवानदेखि फिल्ड अधिकृतसम्म र आदेश दिने अधिकृतहरूको तहगत विवरण मागेको थियो।
जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगलाई २३ र २४ भदौका घटनाका कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी तोकिएको छ।





















