रामनारायण ठाकुर,

मिर्चैया, २० पुस। सिरहाको मिर्चैया नगरपालिकामा पछिल्लो समय सवारी साधन तथा धनमाल चोरीका घटना तीव्र भएपछि स्थानीय व्यवसायी तथा युवाहरूहरूले सुरक्षाको माँग गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीलाई ज्ञापनपत्र बुझाएका छन्। 

विगत केही दिनदेखि मिर्चैया नगरक्षेत्रका मुख्य बजार तथा घरको आँगनबाटै दिउँसै मोटरसाइकल तथा अन्य सवारी साधन चोरीका घटना डरलाग्दो रूपमा बढ्दै गएको भन्दै स्थानीयले शान्ति सुरक्षाको माँग गर्दै ज्ञापनपत्र बुझाएको हो। 

‘दिनहुँजासो हुने चोरीका घटनाले स्थानीय बासिन्दा तथा व्यवसायीहरू त्रासीत हुनुका साथै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न उठेको; ज्ञापनपत्रमा उल्लेख गरेको छ।

‘प्रहरी प्रशासनको उपस्थितिका बाबजुद पनि चोरीका घटनामा कमी नआउनु र चोरीमा संलग्न व्यक्ति तथा गिरोहहरू सहजै उम्किनुले मिर्चैयाको शान्ति–सुरक्षाको अवस्था कमजोर बन्दै गएको महसुस भएको’  उवाहरुले बताएका छन्।

स्थानीयले यो समस्या समाधानका लागि युवाहरूले मिर्चैया बजार क्षेत्र, भित्री सडक तथा शंकास्पद स्थानहरूमा नियमित र प्रभावकारी प्रहरी गस्ती व्यवस्था गर्न माँग गरेका छन्। साथै बजारका मुख्य चोकहरूमा जडान गरिएका सीसीटीभी क्यामेराहरूको नियमित मर्मत, सञ्चालन तथा निगरानीलाई चुस्त बनाइनुपर्नेसमेतत बताए।

त्यसैगरी, नगरपालिकाभित्र प्रवेश गर्ने तथा बाहिरिने नाकाहरूमा सवारी साधनको कडा चेकजाँच व्यवस्था मिलाउन तथा चोरीमा संलग्न गिरोहहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। हराइरहेका सवारी साधनको खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउनेतर्फ ठोस पहल गर्नुपर्ने माँगसमेत गरिएको छ।

ज्ञापनपत्र बुझ्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीले चोरी नियन्त्रणका लागि आवश्यक कदम चालिने र मिर्चैयाको शान्ति–सुरक्षा मजबुत बनाउन प्रहरी सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। 

स्थानीयले चोरीका घटनामा शीघ्र नियन्त्रण नआए जनस्तरबाट थप दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।