सिरहा, १९ पुस। पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सिरहको बरियारपट्टि १ नरगीमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। बाक्लो कुहिरोका कारण पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स. ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा. प्रदेश ०१०७२ ब ००८२ नम्बरको स्कर्पियो आपसमा ठेक्किंदा मोटरसाइकलका चालक नरगी गाउँ घर भएका करिव २३ वर्षीय मो। नदिम अन्सारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका अन्सारी र मोटरसाइकल पछाडि बसेका करिब २२ वर्षीय सैतुल्ला मियाँलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएपनि अन्सारीको उपचारको क्रममा मृत्यु भएको हो।
मियाँको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
दुर्घटनापछि फरार रहेका स्कर्पियो चालकको पहिचान भइसकेकाले खोजी गरी नियन्त्रणमा लिइएपछि थप कानुनी कारबाहीको प्रकृया अगाडि बढाइने जानकारी दिंदै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।






















