सिरहा, १७ पुस। सिरहा प्रहरीले जिल्लाको पश्चिमी नगरपालिका कर्जन्हा १०, मनहर्वाबाट खाली घरमा लुकाएको अवस्थामा दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। मनहर्वास्थित घरमा १० वटा जुटको बोरामा प्याक गरी लुकाएको अवस्थामा दुई क्विन्टल १० किलो गाँजा बरामद भएको हो।
गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनाको आधारमा बुधबार अपरान्ह इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मनहर्वास्थित घरमा लुकाएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार बरामद गरिएको गाँजा प्रक्रिया पुर्याएर मिर्चैया प्रहरीमा ल्याई थप अनुसन्धान भइरहेको छ। प्रहरीले घर र घर रहेको जग्गा कसको हो भन्ने केही खुलाएको छैन।





















