जनकपुरधाम, ६ मंसिर। धनुषा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक सिरहाकी एक महिला पक्राउ गरेको छ। सिरहाको कल्याणपुर नगरपालिका ५, निर्दनाका करिव ४० वर्षीया गंगावती महतोलाई प्रहरीले धनुषाधाम नगरपालिका ४, गोरिपुरबाट पत्रफाउ गरेको हो। 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ११ बजे धनुषाधाम उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी  डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

महिलाले कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाई छ।

पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।