मणिलाल विश्वकर्मा
लहान, १६ पुस। सिराहाको लहान नगरपालिका १८, शोभापुरका दलितहरूले बस्तीनजिकै सञ्चालन गरिएको क्रसरको प्रदूषणले समस्या भएको भन्दै बन्द गर्न मागसहित लहानमा प्रदर्शन गरेका छन्।
संयुक्त संघर्ष समिति लहानको आह्वानमा स्थानीय दलितहरूले बुधबार ‘अवैध क्रसर बन्द गर, सुकुम्बासी बस्तीको सुरक्षा गर’, ‘दलितहरूलाई स्वस्थ वातावरणमा बाँच्न देऊ’लगायतका नारा लगाउँदै बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्।
संघर्ष समितिका अध्यक्ष टीकाराम मोचीका अनुसार कृषि फर्म खोल्ने भन्दै केही समय कुखुरापालन गरेपछि गिट्टी–बालुवाका व्यापारीहरूले अवैध ढंगले क्रसर उद्योग सञ्चालन गर्दा बस्तीलाई समस्या भएको विषयमा पटकपटक गुनासो गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर प्रदर्शन गरिएको बताए।
स्थानीय खुट्टी खोलाबाट अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन गरी मुनाफा कमाउने उद्देश्यले बस्तीका दलितहरूको स्वास्थ्य, बालबालिकाको पढाइमा भइरहेको समस्यालाई नजरअन्दाज गरिएको उनले बताए। ‘क्रसर उद्योग सञ्चालनले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर मात्र पर्ने होइन, गाउँमै रहेको आधारभूत तहमा पढ्ने बालबालिकाहरूलाई पनि क्रसरबाट निस्किने धुलो–धुवाँले समस्या भइरहेको छ,’ उनले भने, ‘त्यसविरुद्ध वन कार्यालयलाई पनि गुहार्याैँ, तर सुनुवाइ भइरहेको छैन।’
क्रसर बन्द गर्न नगरको पत्र, वन बेखबर
लहान नगरपालिकाले गत १५ मंसिरमा स्थानीय पौराणिकस्थल खुदीबखारीको दलितबस्तीको बिचमा अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन र संकलन गरी अवैध तवरबाट क्रसर सञ्चालन गरेको स्थानीय समुदायको सामूहिक निवेदनको आधारमा क्रसर बन्द गर्न पत्र काटेको मोचीले बताए। नगरपालिकाले क्रसर सञ्चालक लहान– ७ का वैजनाथप्रसाद साहलाई क्रसर बन्द गर्न पत्र काटेको भए पनि अटेर गरिरहेको उनको गुनासो छ।
नगरको पत्रमा अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरी अवैध तवरबाट क्रसर सञ्चालन गर्ने गरेको र सो क्षेत्रमा रहेका समुदायलाई स्वास्थ्यमा प्रतिकूल असर पारी धुलो धुवाँ र ध्वनि प्रदूषणले स्थानीय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई पनि पठनपाठनमा समस्या भइरहेको उल्लेख छ। ‘विद्यार्थीलाई पढ्नसमेत असहज भएकाले अविलम्ब क्रसर हटाइदिन स्थानीय समुदायको सामूहिक निवेदन परेकाले कानुनबमोजिम दर्ता गरी सञ्चालन गर्नुपर्नेमा अवैध रूपले सञ्चालन गरेको पाइएकाले अविलम्ब बन्द गर्न आदेशानुसार जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खन र प्रशोधन गर्न क्रसर सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन, मापदण्डबमोजिम भए–नभएको हेर्ने निकाय डिभिजन वनले भने उक्त क्रसरको विषयमा जानकारी नभएको जनाएको छ। लहानस्थित डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले बस्तीको बिचमा अवैध ढंगले क्रसर सञ्चालन गरिएको विषयमा कार्यालयलाई जानकारी नरहेको दाबी गरे।
स्थानीय दलितहरूले संघर्ष समितिमार्फत ४ पुसमा जिल्ला प्रशासन, डिभिजन वन, इलाका प्रहरी, नगरपालिकालगायत नौवटा निकायलाई बोधार्थ गर्दै लहानस्थित इलाका प्रशासन कार्यालयलाई क्रसर बन्द गर्न मागसहित ज्ञापनपत्र बुझाएका थिए।






















