रामनारायण ठाकुर
मिर्चैया, १५ पुस। सिरहाको मिर्चैया नगरपालिकामा विगत २० वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको श्रीश्री १०८ श्री महावीर झण्डा मेला यस वर्ष पनि सुरु भएको छ। संस्कृतिको संरक्षण, धार्मिक आस्था प्रवद्र्धन तथा विश्वकल्याणको कामनासहित आजदेखि मिर्चैया नगरपालिका ५ स्थित थानाचौक झण्डा टोलमा महावीर झण्डा मेला सुरु गरिएको हो।

मेलाको पहिलो दिन विशाल झण्डा ठड्याइएर कलश शोभायात्रा निकालिएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार यस वर्ष ७५ फिट अग्लो महावीर झण्डा निर्माण गरिएको छ। मेलामा सहभागी हुने व्यापारीहरूका लागि आवश्यक व्यवस्थापनसमेत गरिएको मेला समिति अध्यक्ष रामलोचन साहले जानकारी दिए।
आजबाट सुरुभएको मेला पुस २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ। त्यस्तै, पुस १८ गतेदेखि २१ गतेसम्म झण्डा झर्नि प्रतियोगिता पनि आयोजना गरिने जनाएको छ।
मेला समिति अध्यक्ष साहका अनुसार विगत वर्षहरूझैं यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेलालाई भव्यता दिने जनाएको छ।






















