- रामनारायण ठाकुर
मिर्चैया, १४ पुस। सिरहाको मिर्चैया नगरपालिका ६ जिवा मगरटोल र भोटिया टोलका करिव ३० घर परीवार विपन्न, भूमिहिन मुसहर समुदाय कठ्यांग्रिदो जाडो र शीतलहरको चपेटामा परेका छन्। चिसो बढ्दैजाँदा सुरक्षित आवासको अभावमा जनजीवन कष्टकर बनेको हो।

मधेस प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत विपन्न तथा दलित समुदायका लागि आवास निर्माण कार्य अलपत्र भएकाले मधेशको कठ्याङ्गीने जाडोमा यहाँका मुसहर परीवार विचल्लिमा परेको बताउँछन्। निर्माण दुई वर्ष बितिसक्दा समेत घरहरू पूर्ण रूपमा निर्माण हुन नसक्दा आफूहरु त्रिपाल र परालको सहारामा बस्न बाध्य हुनुपरेको सदायहरुको गुनासो रहँदै आएको छ।

यहाँ निर्माण थालेको घरहरु अझै आधा अधुरा अवस्थामा छ। सरकारी आश्वासनमै सीमित हुँदा पीडित परिवारहरू अझै पनि कष्टकर जीवन बिताउन बाध्य छन्। अहिले उनीहरुसँग तर नत ओतलाग्ने राम्रो घर छ, न त पर्याप्त न्यानो ओढ्ने ओछ्याउने नै।

स्थानीय ४५ वर्षीय विजय सदा आफ्ना तीन छोरा र एक छोरीसहित छ जनाको परिवारसहित त्रिपालमुनि बस्न बाध्य छन्। विजय भन्छन्, ‘न यो घर बनिरहेको छ। नत हामीसँग अर्को घर बनाउने जग्गा र रुपैयाँ छ। हामी गरिवले जाडोमा छोराछोरीलाई ओतमा राख्न पनि सकेका छैनौं।’
त्यसैगरी पञ्ची सदा, रामलोचन सदा, संजय सदा, झिगुरा सदा, डिङ्गरा सदा, सन्त सदा, रसिया सदा, रासालाल सदा, श्रीराम सदा र जितना सदा लगायतका मुसहर परिवारहरू पनि वर्षौंदेखि घर विहीन अवस्थामा जीवन बिताइरहेका छन्।
चिसो बढ्दै जाँदा बालबालिका, वृद्ध र महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको स्थानीयवासीले बताएका छन्। उनीहरूले सम्बन्धित निकायसँग तत्काल राहत, न्यानो कपडा तथा स्थायी आवासको व्यवस्था गर्न माँग गरेका छन्।
यस वडा अध्यक्ष रामप्रकाश महासेठले मधेश प्रदेशका सभा सदस्य कञ्चन विक्षाको नेतृत्वमा घर निर्माण आएको भन्ने सम्म आफूले जानकारी पाएको बताए। त्यसको कति बजेट आएको छ, कसले कसरी निर्माण गरिरहेको छ। त्यो मलाई जानकारी भएन। त्यहाँको घर निर्माणको विषयमा मलाई औपाचारीक रुपमा कुनै जानकारी छैन।
वडाले विपद्का परेकाहरुलाई उद्धारमा केही रकम छुट्याएको भएपनि लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सञ्चालनमा समस्या भएको वडाअध्यक्ष महासेठले बताए।
पूर्वाधार विकास कार्यालय सिरहाका साईड इन्जिनियर रामसुन्दर यादवले दुईवर्षदेखि बजेट नआएकाले निर्माण कार्या अगाडी नबढेको बताए। उनले भने, ‘दुई वर्ष देखि बजेट नै आईरहेको थिएन, यो पटक पनि थोरै मात्र बजेट आएकोले सम्पूर्ण घर निर्माण कार्य सम्पन्न हुनेमा आसंका छ।’
आर्थिक वर्ष २०७९/०८० बाट निर्माणकार्य सुरु भएको पूर्वाधार कार्यालयले जनाएको छ। जम्मा १२ वटा घर बनाउने योजना रहेको उक्त बस्तिमा १० वटा घरको कुर्सिभन्दा माथिको काम भएको छ। एउटा कुर्सिसम्म भएको र एउटाको जग्गा अभावमा काम सुरु नभएको बताइएको छ।






















