जनकपुरधाम,६ पुस। मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित हुनु भएको छ। मधेश प्रदेश सभाको आइतबार बसेको बैठकले यादवलाई प्रदेश सभामुख पदमा निर्वाचित गरेको हो।
प्रदेश सभा बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा ७२ जनाले यादवको पक्ष मतदान गरेको थिए। २४ जनाले यादवको विपक्षमा मतदान गरेका थिए।
उक्त सङ्ख्या प्रदेश सभामा कायम रहेको प्रदेशसभा सदस्य १०७ को बहुमत भन्दा बढी रहेकोले यादवलाई सभामुखमा निर्वाचित गरिएको हो।
प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि जसपा नेपालकोतर्फ बाट रामअशिष यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको थियो।
गएको कात्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेसको मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवको पद २४ दिनमै गएपछि एमाले मधेसमा प्रतिपक्ष कित्तामा पुगेको छ।
यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भएपछि सभामुख पद रिक्त थियो।
यस प्रकरणमा एमालेले मधेसमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख पनि गुमाएको छ।
मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका हुन्।






















