रामनारायण ठाकुर
मिर्चैया, ५ पुस। सिरहा मल्हनियाँ पिराडी सेवा समाज दोहा, कतारले आर्थिक संकटमा रहेको स्वर्गीय हितो मण्डलको परिवारलाई सिलाई मेसिन सेट सहयोग गरेको छ। मिर्चैया नगरपालिका २ मल्हनियाँ खोरी पिराडीमा बसोबास गर्दै आएको स्व. मण्डलको असामयिक निधनपछि गम्भीर आर्थिक समस्यामा परेका परीवारलाई समाजले सहयोग प्रदान गरेको हो। मण्डलको एक वर्ष अघि निधन भएको थियो।
मण्डलले गाउँघरमा विवाह, भोज–भतेरमा खाना पकाउने तथा दैनिक ज्यालादारी मजदुरीमार्फत परिवारको जीविकोपार्जन गर्दै आएका थिए। मण्डलको निधनपछि परिवारको जीवनयापन कठिन बनेको छ।
परिवारमा उनकी श्रीमतीसहित सात सन्तान रहेका छन्। तीन छोरीहरूको विवाह भइसकेको भए पनि एक छोरी उषा मण्डल श्रीमानको निधनपछि माइती घरमै बस्दै आएकी छिन्। १५ वर्षिय शान्ति मण्डल, १२ वर्षिय मंजिता मण्डल, १० वर्षिय रिन्कु मण्डल र ५ वर्षिय छोरा राजन मण्डलको पालन पोषण गर्न विधुवा आवालाई धौ धौ परेको छ। घरको मुख्य व्यक्ति नै गुमेपछि शिक्षा र स्वास्थ्य त परको कुरा भयो हातमुख जोड्न एकसरो लाउन समेत कठिनाइ भइरहेको छ।
परीवारको विचल्लिलाई देखेर सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारले छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन सेट सहयोग गरेको समाजका अध्यक्ष पाण्डव ठाकुरले जानकारी दिए।
समाजले स्व. मण्डलको घरमै पुगेर सिलाई मेसिन हस्तान्तरण गरेका थिए। हस्तान्तरण क्रममा सेवा समाजका पूर्व अध्यक्ष राजकुमार कापर, उमेश कापर, समाजका अन्य सदस्यहरू तथा स्थानीय दिलीप मण्डललगायत गाउँका युवाहरूको उपस्थिति रहेको थियो।
“सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ सेवा समाजले आगामी दिनहरूमा पनि प्रवासी नेपालीहरूको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।






















