रामनारायण ठाकुर

मिर्चैया, २ पुस। सिरहा जिल्लाको कर्जन्हा नगरपालिका १० मा अवस्थित नागाबाबा ताल तथा नागाबाबा स्थान मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित बन्दै गएको छ। चुरे पहाडको फेदीमा अवस्थित यो स्थल पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटक तथा श्रद्धालुको आकर्षणको केन्द्र बन्दै गएको हो।

600279487_2430902537328849_313028069002765262_n

प्रयागपुर चोकदेखि पश्चिम र मन्हार्वा चोकदेखि पूर्वतर्फ पर्ने यो क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब तीन किलोमिटर उतरमा अवस्थित छ। चारैतिर हरियाली वनजंगलले घेरिएको नागाबाबा ताल शान्त, स्वच्छ र रमणीय वातावरणका कारण जो–कोहीलाई आकर्षित गर्ने खालको छ।

तालसँगै रहेको नागाबाबा स्थान मन्दिरमा पुरानो इनारसमेत रहेको छ, जसलाई स्थानीयले धार्मिक दृष्टिले महत्वपूर्ण मान्दै आएका छन्। स्थानीय जनविश्वासअनुसार यहाँ श्रद्धापूर्वक पूजा–अर्चना गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ। यस कारण विशेष पर्व र अवसरमा टाढा–टाढाबाट समेत भक्तजनहरू आउने गरेका छन्।

स्थानीय रामबाबु साहले स्थानीय सरकारले यसको विकास र संरक्षणको लागि ध्यान दिनुपर्ने बताए। उनले भने, ‘यो पौराणीक धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र विकासको लागि सवै तह तप्काको सहयोग आवश्यक छ।’ 

नागाबाबा ताल तथा मन्दिरको उचित संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसार गर्न सकिए यस क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ। विशेषगरी सडकको सुधार, खानेपानी, सरसफाइ र विश्रामस्थलको व्यवस्था भएमा पर्यटकको संख्या अझै वृद्धि हुने उनीहरूको भनाइ छ।

वडा अध्यक्ष सागिर मियाँले आफ्नो तर्फबाट सकेको जति सहयोग गरिरहेको बताए। उनले भने, ‘यो निकै पौराणीक महत्वको ताल तथा स्थान हुन्। हामीले यसको पूर्वाकार विकासमा लगानी गर्नु पर्ने हुन्छ। मैले वडाको तर्फबाट बाटो मर्मतको काम गरेको छु। त्यो प्रयाप्त छैन।’

उनले वडाले यसको सम्पूर्ण विकासमा योगदान गर्न सम्भव नरहेको भन्दै यसकोलागि माथिल्लो निकायले ध्यान दिनुपर्नेमा जोड दिए। 

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र शान्त वातावरणको त्रिवेणी बनेको नागाबाबा ताल तथा मन्दिर हाल संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको स्थानीयहरू बताउँछन्। सम्बन्धित निकायको ध्यान पुगेमा यो स्थल सिरहाको पहिचान बनाउने महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।

mount MBA