सिरहा, २ पुस। विद्यालय छाडेर राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै स्थायी शिक्षक किशोर कुमार साहमाथि  कार्वाहीको माँग गर्दै धनगढीमाईका एक अभियन्ताले पालिकामा उजुरी दिएका छन्। धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयमा कार्यरत मावि स्थायी शिक्षक किशोर कुमार साह राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै उनीमाथि कार्वाको माँग गर्दै स्थानीय अभियन्ता अनिल कुमार सिंहले पालिकामा उजुरी दिएका हुन्। 

शिक्षक साहले आफ्नो दायित्व भुलेर काठमाडौंमा जारी नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टीको प्रचार–प्रसार तथा भोट माग्ने कार्यमा संलग्न भएको फोटो सार्वजनिक तथा विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएपछि उनले पालिकामा उजुरी दर्ता गरेको बताए।   

उनले विभिन्न सञ्चार माध्यमका आएको समाचार फोटोहरु प्राप्त भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई निज शिक्षकमाथि कार्वाहीको माँग गरेको छ।  

उनले दिएको उजुरीमा ‘शिक्षक पेशा राजनीतिक रूपमा तटस्थ, अनुशासित र जिम्मेवार रहनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि गर्नु शिक्षक सेवा नियमावली, शिक्षा ऐन तथा आचारसंहिता विपरीत गम्भीर अनुशासनहीनता हो। यसबाट विद्यार्थीको पठनपाठन प्रभावित भएको, सार्वजनिक पदको दुरुपयोग भएको तथा शैक्षिक संस्थाको गरिमा क्षति पुगेको स्पष्ट देखिन्छ। उक्त विषयमा यथाशीघ्र छानबिन गरी सत्यतथ्य पुष्टि भएमा प्रचलित कानुन तथा शिक्षक सेवा नियमावली बमोजिम सम्बन्धित शिक्षकउपर कडा कारबाही (स्पष्टीकरण, तलब रोक्का, सेवा अभिलेखमा कैफियत, निलम्बन वा अन्य उपयुक्त कारबाही) गरिपाऊँ भनी यो निवेदन पेश गरेको छु।’

dhangadhi