सिरहा, २६ मंसिर। सिरहाको गोलबजारमा निर्माण प्रकृया पुरा नगरी वडाकार्यलय भवन निर्माणकार्य धमाधम भईरहेको छ। गोलबजार नगरपालिका ६ को अधुरो वडा कार्यालय भवन निमार्णका लागि उपभोक्ता समिति, टेण्डर वा कोटेशन कुनै प्रकृया पुरा नगरी वडा अध्यक्ष सञ्जित लामाले निर्माणकार्य थालेको हो।

कुनैपनि सार्वजनिक निर्माण कार्यको लागि ठेक्का, कोटेशन वा उपभोक्ता समिति गठन गर्नुपर्ने कानुनी प्रावधान भएपनि यो निर्माण कार्यमा कुनैपनि प्रकृया अपनाइएको छैन। यो विषयको पुष्टि वडा अध्यक्ष आफैले गरेका छन्।
अध्यक्ष लामाले पर्खाल लगाउने, प्लाष्टर, विद्युतिकरण, रङ्गपेन्ट प्लम्बिङगजता कामगर्न समय लाग्ने भएकाले पछि प्रकृया पुर्याउँदै गरौंला भनेर आफैले काम थालेको बताए। उनले भने, ‘घर बनाउन समय लाग्छ, यो विचमा कहिले हाकीम नहुने, कहिले लेखा नहुने समस्याले प्रकृयामा जान समय लागेको हो। म एक–एक नापेर छुट्याएको रकमको काम गराउँछु। प्रकृयापनि पुर्याउँछु।’
उनले अन्यत्र दोष देखाएपनि आफैले गर्नुपर्ने उपभोक्ता समितिसमेत गठन गरेका छैनन्। उनले चन्द्र प्रसाद लामाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको दावीगरेपनि वडा सचिव हरेराम मुखियाले भने वडा कार्यालय भवन निर्माको कुनै उपभोक्ता समिति गठन नभएको र कामगर्ने सम्झौता पनि नभएको बताए।
तपाईंहरु जनप्रतिनिधी भएर आफैले बनाएको नियम मिचेर काम गर्न मिल्छ? भन्ने प्रश्नमा अध्यक्ष लामाले पुनः भने, ‘यो समय लाग्ने काम हो, मैले प्रकृया सुरुगरिसकेको छु। सवै प्रकृया पुरा हुन्छ भने। अव तपाईंहरुले जे बुझ्नुहुन्छ त्यही अनुसार गर्नुस्।’
अध्यक्ष लामाले आफैले काम गराईरहेको भनेपनि भवन निर्माणमा स्थानीय निर्माण व्यसायी कपिलदेव साहले काम गरिरहेको एक स्थानीयले बताए। उनका अनुसार निर्माण सामाग्रि ल्याउने देखि लेवर–मिस्त्रि सवै व्यसायी साहले फरछ्यौट गरिरहेको बताए।
व्यसायी साहले गोलबजार नगरपालिकामा हुने धेरैजसो निर्माण सामाग्री दिने र उनको र आफन्तको नाममा रहेको करिव आधादर्जन फर्ममार्फत निर्माण र बोर्डिङ्ग जडान गर्ने गरेको एक प्राविधिकले बताए।
यस सम्वन्धमा बुझ्न व्यसायी साहलाई पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन्।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को समानिकरण अनुदान संघिय सरकारबाट २५ लाख रकम अधुरो कार्यालय भवन निर्माण कार्याको लागि छुट्याएको छ। अघिल्लो आर्थिक वर्षमा २०८१/८२ मा पनि २५ लाख रकम छुट्याइएको थियो।
उक्त रकमबाट पिलर र छत ढलानको कार्य उपभोक्ता समितिमार्फत गरिएको थियो।
गोलबजार नगरापलिकाका योजना शाखा प्रमुख इन्जिनियर जय गणेश सिंहले भवन निर्माणको कार्यभएको प्रति अनविज्ञता प्रकट गरे। ‘काम भईरहेको भन्ने मलाई जानकारी छैन। कार्यालयसँग सम्झौता नगरी, कार्यादेश नलिई कामगर्नु कानुन सम्मत होइन्। यसरी काम गर्दा पछि समस्या हुन सक्छ; इन्जिनियर सिंहले भने।
पालिकाका अनुगमन तथा पूर्वाधार विकास शाखा असिस्टेन्ट सव–इन्जिनियर श्रीराम साहले दशैंताका वाललाउने काम गरिरहेको भन्ने जानकारी पाएर गएको बेला काम गरिरहेको देखेपछि प्रकृया पुर्याएरमात्र कामगर्न भनेको बताए। उनले भने, ‘मैले त काम रोकियो होला भन्ने सोंचेको थिएँ। तर, अहिले तपाईंहरुबाटै काम भईरहेको भन्ने जानकारी पाएँ। प्रकृया नपुर्याई काम गर्दा भोली समस्या हुन सक्छ।’






















