सिरहा, २५ मंसिर। सिराहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरस्थित साना किसान कृषि सहकारी संस्थामा तालाबन्दी गरेर कर्मचारी सम्पर्क विहिन भएपछि सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन्। संस्थाका सहायक प्रवन्धक गीता कुमारी सिंह पछिल्लो एक साताभन्दा लामोसमयदेखि कार्यालयमा तालाबन्दिगरी सम्पर्क विहिन भएपछि सर्वसाधारण किसानहरू समस्यामा परेका हुन्।

सहकारीको सञ्चालक समितिलाईसमेत जानकारी नदिई सिंह सम्पर्क विहिन भएपछि सर्वसाधारण मर्कामा परेको त छ नै सञ्चालकहरुपनि समस्यामा पर्नेबेला भईसकेको संस्थाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिए।
उनले भने, ‘हामीलाई जानकारी नदिई सहायक प्रवन्धक सिंह यहि मंसिर १७ गतेदेखि सम्पर्क विहिन हुनुभएको छ। हामीले उहाँलाई फोनमा पटक पटक सम्पर्क गर्दा पनि उठिरहेको छैन। जसकोकारण संस्थानै अपठेरोमा पर्ने अवस्था आएको छ।’
अध्यक्ष यादवका अनुसार संस्थाका प्रबन्धक महेन्द्र प्रसाद यादव संस्थाको नियम विपरित कार्यगरेको आरोपमा निलम्बित भएकाले सहायक गीता कुमारी सिंहलाई अति आवश्यक कामहरुको जिम्मा जिम्मा दिईएको थियो।
पछि बुझ्दै जाँदा उनी निलम्बित प्रवन्धक यादवलाई साँचो बुझाएर गएको भन्ने थाहा पाएपछि सञ्चालक समितिले साँचो माँग्दा नदिएको अध्यक्ष यादवले बताए। उनले भने, ‘तपाईंलाई साँचो दिएर जानुभएको रहेछ, हामिलाई फिर्ता गरिदिनु भन्दा मान्नु भएन। अहिले कार्यालय बन्दै छ।’
उनका अनुसार ऋणको साँवा–ब्याज बुझाउन आउने किसान झन कर्मामा परेका छन्। अध्यक्ष यादवले भने, ‘आजसम्म कर्मचारी सम्पर्कमा आएनु भएको छैन, कार्यालय खुलेको छैन। अव आजको मितिबाट तीन दिनभित्र पनि सम्पर्कमा नआए समितिले निर्णय गरी कानुन बमोजिम ताला फोरेर नयाँ कर्मचारी राख्न बाध्य हुने छौं।’
यस सम्वन्धमा थप जानकारी लिन सहायक प्रबन्धक गीता कुमारी सिंहलाई फोन सम्पर्क गर्दा फोन नउठेन।
स्थानीय किसान जीवन कुमार यादवले ऋणको ब्याज बुझाउन जाँदा कार्यालय नखुलेको देखेपछि फर्कनुपर्ने बाध्यता भएको बताए। उनले भने, ‘अहिले कर्मचारी भेटिन्न, पछि हामीलाई जरीवाना तिर्नुपर्ने डर छ। सहकारीभित्र भएको राजनीतिककरणले हामी साधारण किसान मात्र पीडित हुन्छौं।’
स्थानीयहरूका अनुसार साना किसान कृषि सहकारी जस्ता ग्रामीण वित्तीय संस्थामा कर्मचारीको मनपरी तथा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा खेतीपातीका लागि निर्भर किसानहरू मर्कामा पर्ने बताउँछन्।
पछिल्लो एक सातादेखि सेवा प्रवहा अवरुद्ध हुँदा किसानलाई सावा–ब्याज बुझाउमात्र समस्या भएको छैन, नयाँ ऋण प्रक्रिया रोकीदा किसानको अन्य कामकाज पनि प्रभावित भएको छ।
सहकारी सञ्चालक समितिले यस विषयलाई चाँडो किनारा लगाई सहकारीलाई नियमित सञ्चालनमा ल्याउन सर्वसाधारणले माँग गरेका छन्।























