गुणबहादुर रोका
सुलीकोट, २५ मङ्सिर। उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए। मङ्गलबार कुनै पर्व थिएन, न त मेलापात वा महोत्सव नै तर रुन्चेतको मुटु गण्डकी माध्यमिक विद्यालय असाध्यै भावुक र गौरवपूर्ण समारोहको साक्षी बन्ने दिन थियो। निष्ठापूर्वक आफ्नो कर्मप्रति इमानदार प्रयास गर्ने हो भने गाउँ समाजमा शिक्षकप्रति गहिरो कदर हुन्छ प्रमाणित गर्ने दिन थियो।

जीवनभर ज्ञानको दियो बालेर उज्यालो प्रदान गर्नुभएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय अभिभावकहरूले आकाशमार्गमार्फत बिदाइ गर्ने तय भइसकेको थियो। प्रधानाध्यापक उपरकोटी जसले झन्डै चालिस वर्षदेखि उक्त विद्यालयमा विद्यार्थीहरूलाई अक्षरदेखि अनुशासनसम्मका सबै मन्त्र सिकाउनुभयो। उहाँ मङ्गलबार पहिलो पटक आफूलाई आकाशमा उडाएर लैजाने क्षणमा उभिनुभएको थियो। रुन्चेतका स्थानीय अभिभावक सजन गुरुङले ‘गुरु त भुइँका मान्छेलाई उड्न सिकाउने मानिस’ भएको बताउँदै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “अब भने हामीले नै गुरुलाई उडाएर सम्मान दिन्छौं।” त्यो कथनसँगै एक अदृश्य कम्पन विद्यालयभर फैलिइरहेको थियो।
गोरखाको फिनाममा जन्मेर शिक्षणमा समर्पित गर्नुभएका प्रधानाध्यापक उपरकोटीको घरपरिवार भरतपुरमा बस्दै आएको छ। त्यस कारण रुन्चेतबाट काठमाडौँसम्म हेलिकोप्टर र काठमाडौँबाट भरतपुरसम्म हवाइजहाज चढाएर घरमै पुर्याउने व्यवस्था पूर्वविद्यार्थीहरूले नै रकम जुटाएर मिलाएका थिए। विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी र स्थानीयका आँखामा ऋण तिर्न नपुग्ने भावनाले भरिएको कृतज्ञता चम्किइरहेको थियो। बिदाइ समरोहमा विद्यार्थीहरूको कृतज्ञ नजर, सहकर्मीहरूका भरिभराउ स्मृतिहरू, अभिभावकको आत्मीयतालाई एकाकार गरी प्रधानाध्यापक उपरकोटीको जीवनलाई एउटा जीवित काव्य झैँ बनाइएको थियो। हेलिकोप्टरको पङ्खा घुम्न थालेपछि गाउँभर एकाएक हावाले पनि गति बढाएको जस्तो आभास भइरहेको थियो।
(गोरखापत्र )






















