सिरहा, २४ मंसिर। नेपाल मानव अधिकार संगठन सिरहाले ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल तथा पौष्टिक आहार वितरण गरेको छ।

मानव अधिकार, मानवीय मूल्य र स्वास्थ्यको महत्वलाई जोड दिदै अस्पतालमा उपचाररत ६० जना बिरामीहरूलाई फलफूल तथा पौष्टिक आहार वितरण गरिएको हो।
ईलाका प्रशासन कार्यालय, लहानका कार्यालय प्रमुख वेदनिधि खनाल फलफूल र पौष्टिक आहार वितरण गर्दैै यस किसिमको पहल स्वास्थ्य र मानव अधिकार संरक्षणको दृष्टिले प्रशंसनीय भएको बताए।
नेपाल मानव अधिकार संगठन, मधेश प्रदेशका संयोजक विमल ठाकुरका अनुसार यस्तो सामाजिक कार्यक्रमले मानव अधिकारको दैनिक अभ्यास र मानवीय मूल्यमान्यतालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गरे।
संयुक्त राष्ट्रसंघको महासभाले १० डिसेम्बर, १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको स्मरण गर्दै हरेक वर्ष १० डिसेम्बरलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रूपमा मनाइदै आएको प्रदेश संयोजक ठाकुरले जानकारी दिए। उनले मानव अधिकार संरक्षण लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ भएको भन्दै यस किसिमका कार्यक्रमले जनचेतना बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, ईलाका प्रहरी कार्यालय लहानका प्रमुख लगायत स्थानीय समाजसेवीहरुकोसमेत उपस्थिती रहेको थियो।






















