मणिलाल विश्वकर्मा
लहान, २४ मंसिर। सिराहाको कर्जन्हा नगरपालिका ११ स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नगरप्रमुखको कार्यकक्षमा लगाएको ताला शिक्षक नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउने लिखित सहमतिपछि खुलेको छ।

विद्यालयमा शिक्षक अभावले पठनपाठन रोकिएको भन्दै आक्रोशित प्राविधिक धारका विद्यार्थीहरूले मंगलबार बिहान कार्यालय खुल्नुअगावै नगरप्रमुखको कार्यकक्षमा ताला लगाएका थिए। नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू र विद्यार्थी प्रतिनिधिहरूबिच भएको छलफलपछि शिक्षक नियुक्त गर्ने सहमतिसँगै ताला खोलिएको हो।
सहमतिमा आगामी आठ दिनभित्र शिक्षक नियुक्ति गरी पठनपाठन सुचारु गरिने, अन्यथा आ–आफ्नो पदबाट राजीनामा दिने उल्लेख छ। तर, कसको राजीनामा भन्ने खुलाइएको छैन।
कर्जन्हाका नगरप्रमुख भोलाप्रसाद पोखरेलले विभिन्न कारणले प्राविधिक धार र साधारणतर्फको पाँचजना शिक्षकको नियुक्ति प्रक्रिया लम्बिएको स्विकारे। ‘म निर्वाचित हुनु अगावैदेखिको समस्या हो,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समिति थिएन, पटक–पटकको प्रयासमा समिति गठन गरी नियुक्तिको प्रक्रिया अगाडि बढायौँ।’ उनका अनुसार शिक्षक छनोटका लागि लिखित परीक्षाको केन्द्रको विषयमा पनि विमति हुँदा दुई–चारपटक परीक्षा रोकिँदै आएको थियो।
‘पछिल्लोपटक सोमबार तोकिएको लिखित परीक्षामा जानैपर्ने शिक्षा शाखाका कर्मचारी दुर्घटनामा परेपछि रोकिएको हो,’ उनले भने, ‘नितान्त प्राविधिक समस्यालाई राजनीतीकरण गर्न खोजिएको मात्र हो, नगरपालिका शिक्षक छनोट गरी पठनपाठन व्यवस्थित गर्न गम्भीर छ।’
विद्यालय चलाउनै समस्या : प्र..अ.
विद्यालयका प्रधानाध्यापक लक्ष्मी हायुले पछिल्लो चार वर्षदेखि शिक्षक अभावको कारणले प्राविधिक धारतर्फ नियमित कक्षा सञ्चालन गर्नै समस्या भइरहेको गुनासो गरे। २०७९ सालमा भएको स्थानीय तहको दोस्रो निर्वाचनपछि शिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको भए पनि वडाध्यक्षले ‘विद्यालय व्यवस्थापन समितिको म्याद सकिँदै छ, नयाँ गठनपछि गरौँ,’ भन्ने प्रस्ताव गरेपछि रोकिएको उनले बताए।
कैयौँपटकको प्रयासमा गत वैशाखमा समिति गठन गरिएपछि नगरपालिकाले गत असारमा प्राविधिक धारतर्फ मा.शि. द्वितीय श्रेणीमा भौतिकशास्त्र, रसायनशास्त्र र इन्जिनियर तथा मा.शि. तृतीय श्रेणीका इन्जिनियर तथा साधारणतर्फ मा.शि. तृतीयका लेखा गरी पाँचजनाका लागि विज्ञापन निकालेको थियो। ‘त्यसपछि पनि लिखित परीक्षाको मिति तय हुँदै आएको भए पनि विविध कारणले रोकिँदै आएको हो,’ उनले भने।






















