रामनारायण ठाकुर
सिरहा, २३ मंसिर। सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुरस्थित हिमालय सुगर मिल्स लिमिटेडमा प्रत्येक वर्षझैं यस वर्ष पनि डोंगा पूजा सम्पन्न भएको छ। डोंगा पूजा पछि मात्र उखु क्रसिङ औपचारिक रूपमा सुरु गरिने परम्परा अनुसार पूजा गरेर २०८२÷०८३ को लागि उखु क्रसिङ सुरुवात गरिएको हो।

उखु क्रसिङ सुरु गर्नु अघि मिल सञ्चालन प्रणाली, सुरक्षा र सम्पूर्ण उत्पादन सिजनको शुभ साईतको रुपमा डोंगा पूजा गर्ने चलन रहेको हिमालय सुगर मिल्सका उखु महाप्रबन्धक (प्रशासन) अभद किशोर यादवले जानकारी दिए। उनले भने, ‘डोंगा पूजा नगरी मिल सञ्चालन हुँदैन, यसलाई शुभ आरम्भको रूपमा लिइन्छ।’
यस सुगर मिलमा सिरहा, धनुषा र सप्तरीका करिब ९ हजार ३३२ किसान आवद्ध छन्। मिलको उखु प्रशोधन क्षमता २५ लाख क्विन्टल भए पनि हालसम्म १५ लाख क्विन्टल सम्म उत्पादन प्रक्रिया पुगेको यादवले बताए।

उनले यस वर्ष उत्पादन र किसान सहभागिता अझ बढ्ने सम्भावना रहेको बताए। डोंगा पूजा कार्यक्रम मिलका इ.डी. सरेश सराफको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव प्रमुख अतिथि र मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी चौधरी, उखु उत्पादक किसान संघका अध्यक्ष अमरनाथ यादव, कोषाध्यक्ष रामनारायण यादव, सचिव रामपुकार कामती लगायत सिरहा, धनुषा र सप्तरीका सयौँ किसानहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गत वर्ष सबैभन्दा बढी उखु आपूर्ति गर्ने किसानलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार सहित प्रमाणपत्र र बलाईकेतले सम्मानित गरिएको छ।
यसका साथै पूजाको अवसरमा उखु बोक्ने टाइर गाडी तथा गोरूलाई विशेष रुपमा पूजा गरिनुका साथै मजदुर र किसानलाई गम्छा, अबिर र फुलमाला लगाएर स्वागत तथा सम्मान गरिएको छ।
डोंगा पूजा धार्मिक परम्परा मात्र नभई किसान, उद्योग र समुदायबीचको सम्बन्ध मजबुत गर्ने अवसर मानिने गरिएको छ।
भविष्यमा उखु उत्पादन, प्रशोधन र किसान अभिमुखी कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता मिल्स प्रशासनले गरेको छ।






















