रामनारायण ठाकुर
सिरहा, २२ मंसिर। कञ्चनपुर–कमला सडक विस्तारको क्रममा सिरहाको कर्जन्हा नगरपालिका १०, परियाँगपुर शिव मन्दिर चोक क्षेत्रमा निर्माणाधीन नालाको गुणस्तर र संरचनालाई लिएर स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। उनीहरूले तत्काल ढक्कनसहितको बलियो नाला निर्माण गर्न माँग गर्दै अन्यथा चर्को आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
स्थानीयका अनुसार परियागपुर शिव मन्दिर चोक नजिकै निर्माण गरिएको कलभर्ट भए पनि नाला निर्माणको काम सुस्त गतिमा भएको र निर्माण गरिएको नाला गतिलो नभएको साथै ढक्कन नभएको पाइएको छ।
स्थानीयहरूको प्रमुख माँग वर्षायाममा पानीको गति र चाप अत्यधिक हुने भएकाले मिर्चैया र बन्दिपुरमा निर्माण भएको नालाजस्तै बलियो र स्लाइप सहितको नाला परियाँगपुर शिव मन्दिर चोकमा पनि बनाउनुपर्छ भन्ने रहेको छ।
‘स्लाइप सहितको बलियो नाला निर्माण नभए हामी आन्दोलनमा जाने बाध्य हुनेछौँ। अहिले नालाको लागि जताततै खाल्डो खनेपछि गाई, भैंसी र बच्चाहरूसमेत ती खाल्डोमा खसेर दुर्घटनामा परेका छन्।’ स्थानीयहरूको भनाइ रहेको छ।
आइतबार बेलुका करिब ४ः५ बजेतिर कर्जन्हा नगरपालिकाका प्रमुख भोला प्रसाद पोखरेल र उपप्रमुख लक्ष्मी श्रेष्ठसहित वडा १० का वडा अध्यक्ष तथा कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाको टोलीले परियाँगपुर शिव मन्दिर चोक क्षेत्रको कलभर्ट तथा खनिएको खाल्डोको स्थलगत अनुगमन र निरीक्षण गरेको छ।
अनुगमन टोलीले स्थानीयहरूको माग र समस्यालाई ध्यानपूर्वक सुनेको भएपनि यद्यपि, अनुगमनपश्चात नाला निर्माणको गुणस्तर र ढकनसहितको नालाको विषयमा आयोजना पक्षबाट कुनै ठोस निर्णय वा प्रतिबद्धता सार्वजनिक भैसकेको छैन।
स्थानीय बासिन्दाहरूले सडक विस्तार आयोजनाले आफ्नो माँगलाई तत्काल सम्बोधन गरी गुणस्तरीय र सुरक्षित पूर्वाधार निर्माण गरिनुपर्ने माँग गरेका छन्।






















