जनकपुरधाम, २० मंसिर। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन्।  
1765030367918

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समीकरण अव सबै प्रदेशमा पनि अघि बढ्ने दाबी गरेका हुन्।  
1765030367918 1
संयोजक प्रचण्डले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको बताए। जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढंगले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको उनको भनाइ छ। 
संयोजक प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे। एमालेभित्र रहेका वामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए। 
त्यस्तै संयोजक प्रचण्डले मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने जिकिर गरे।
सोहीक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौँको सङ्ख्यामा युवाहरू आफ्नो पार्टी प्रवेश गरेको दाबी गरे।
सम्बोधनकै क्रममा उनले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने बताए।
नेकपा नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा व्यक्त गरे। ‘यो पार्टी एकता सन्देशसभा हाम्रो लागि एकतालाई सुदृढ गर्ने, एकताको सन्देश सवैतिर फैलाउने सभा त हुँदै हो, त्यसको अतिरिक्त संकल्प सभा पनि हो; नेता श्रेष्ठले भने, ‘संकल्प यस मानेमा कि हामी हाम्रो पार्टीलाई बलियो बनाउन त छदै छ, पार्टीले निश्चित उदेश्य राखेको ,। त्यहि उदेश्य पुरा गर्न यो आजको संकल्प सभा पनि हो।’
समाजिक आर्थिक रुपान्तरणको प्रकृयापनि पुरा गर्नु पर्ने  भएकाले हामीले अझै छरिएर रहेका कम्यूनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउन हामी अझै लागि परेका छौं।