मणिलाल विश्वकर्मा

लहान, २० मंसिर। डिकुरा पोखरेलको घर सप्तरीको सुरुंगा नगरपालिका–२ भेडिया गाउँमा पर्छ । उनले करिब १५ वर्षअघि उदयपुरको गाईघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा मानविकी संकायमा १२ कक्षाको अन्तिम परीक्षा दिएकी थिइन् । उनलाई एउटा विषय लाग्यो । थप पढ्ने रहर त गरिन्, तर विवाहपछि रोकियो । ‘अन्तिम परीक्षामा एक विषयमा अल्झिएँ, विवाह भएपछि परीक्षा दिन पनि सकिनँ’ उनले भनिन्, ‘पछि घरनजिकै शिशुवारी क्याम्पस खुलेपछि त्यहीँबाट शिक्षा विषयमा पुन: १२ उत्तीर्ण गरेर नेपाली विषयमा त्यहीँबाट स्नातक गरेँ ।’

स्नातक पास गरेपछि डिकुराले सामाजिक संस्थामा काम गर्दागर्दै समाजशास्त्रमा स्नातकोत्तर पास गरिन् । अहिले सुरुंगा–५ कुसहास्थित मसीलाल जनता माविमा शिक्षण गरिरहेकी उनले भनिन्, ‘फेरि नेपाली विषयमा डिग्री गर्ने जमर्को गर्दै छु । आफँै कार्यरत विद्यालयमा १२ कक्षालाई नेपाली विषय पढाइरहेकी छु ।’

डिकुरा उदाहरण मात्र हुन् । उनीजस्तै पढ्ने रहर हुँदाहुँदै विभिन्न कारणले पढाइ छोड्न बाध्य छोरी–बुहारीका लागि सप्तरीको उत्तर पश्चिमी कुनामा पर्ने सीमान्त गाउँ शिशुवारीस्थित शिशुवारी क्याम्पस भरपर्दो शैक्षिक गन्तव्य बन्दै गएको छ । घरायसी आर्थिक अवस्था, पारिवारिक उल्झनजस्ता विभिन्न कारणले पढ्न नपाएका स्थानीय युवा, छोरी–बुहारीको शैक्षिक गन्तव्य बन्दै गएको छ, शिशुवारी क्याम्पस । उक्त क्याम्पस स्थानीय गाउँलेले गाँस काटेर गरेको सहयोगमा पछिल्लो १४ वर्षदेखि सञ्चालनमा छ ।

गाउँले वातावरण, न्यून शुल्क
शिशुवारी क्याम्पसले १५ साउन २०६९ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो । क्याम्पसमा नेपाली, अंग्रेजी र जनसंख्या विषयमा पढाइ हुन्छ । सुरुंगा नगरपालिका–१ मा रहेको उक्त क्याम्पस पढेर अहिलेसम्म नौ ब्याचमा तीन सय चारजना छोरी–बुहारी र एक सय ९८ जना युवाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् । उत्तीर्णमध्ये कैयनले पेसा व्यवसायसहित शिक्षण, निजामती सेवामा नाम निकालेको क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिना बताउँछन् । ‘गाउँले वातावरण, न्यून शुल्क, गुणस्तरीय पढाइ, उच्च अनुशासनजस्ता कारणले स्थानीय र डेरा लिएर पढ्ने छोरी–बुहारी यहाँ पढ्न आउँछन्,’ उनले भने, ‘क्याम्पसमा छिमेकी उदयपुरको त्रियुगा, रौतामाई, उदयपुरगढी, बेलका, लिम्चुङबुङ, मोरङको लेटाङ, सुनसरीको इटहरीलगायत बहुसंख्यक छात्रा पढिरहेका छन् ।’ 

वार्षिक १४ हजार रुपैयाँमा एक वर्ष पढाइरहेको क्याम्पस प्रमुख तिम्सिना बताउँछन् । ‘यो शुल्क छिमेकी जिल्लामा रहेका सामुदायिक क्याम्पसले लिइरहेका शुल्कभन्दा झन्डै २५ देखि ३० प्रतिशत सस्तो हो,’ उनले भने । न्यून शुल्क त छँदै छ, अन्य ठाउँबाट पढ्न आएका विद्यार्थीका लागि सुरक्षित वातावरण, सस्तोमा डेरा पाइने, स्थानीय विद्यार्थीले घरको काम भ्याएर पनि पढ्न सक्ने भएकाले निम्न वर्गका छोरी–बुहारी, युवा विद्यार्थीका लागि पहिलो रोजाइ बनेको उनको तर्क छ । पछिल्लो ब्याचमा खोटाङ, उदयपुर, सप्तरी, मोरङसहित सुरुंगा नगर क्षेत्रका प्लसटु र स्नातक तहमा गरी करिब तीन सयजना विद्यार्थी पढिरहेको उनले बताए ।

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ हाडेबास गाउँकी सजिता मगर अंग्रेजी विषयमा बिएड दोस्रो वर्षकी विद्यार्थी हुन् । गाउँकै विद्यालयबाट २०७८ सालमा एसइई गरेपछि उनले गाइघाटबाट प्लसटु उत्तीर्ण त गरिन्, तर बाहिर गएर स्नातक पढ्न सकिनन् । उनी अहिले घरबाट साइकलमा करिब एक घण्टाको दूरीमा रहेको क्याम्पस पढिरहेकी छिन् । ‘मेरी दिदी पनि नेपाली विषयमा स्नातक गर्दै हुनुहुन्छ,’ उनले भनिन् । 

सुरुंगा–२ रक्साहा गाउँकी ममता परियार नेपाली विषयमा बिएड पहिलो वर्षमा पढिरहेकी छन् । ‘खेतीपाती, पशुपालन गरेर बाआमाले बाहिर राखेर पढाउने अवस्था थिएन,’ उनले भनिन्, ‘माइली दिदी पनि नेपाली विषय लिएर तेस्रो वर्षमा पढ्दै हुनुहुन्छ ।’

चन्दाको भरमा सञ्चालन
विपन्न विद्यार्थीका लागि गाउँमै चन्दा उठाएर क्याम्पस सञ्चालन गरिएको स्थानीय अभिभावक बताउँछन् । गाउँलेका अनुसार उदयपुरका विद्यार्थी शिशुवारीमा रहेका आफन्तको घरमा र कतिपय गाउँमै डेरा लिएर क्याम्पस पढिरहेका छन् । गाउँमा क्याम्पस सञ्चालन गर्न स्थानीयले १० हजार रुपैयाँ नगददेखि तीन लाख रुपैयाँसम्मको जग्गा दान दिएका छन् । स्थानीय नारायणप्रसाद पराजुलीले अहिलेको बजार मूल्यअनुसार करिब तीन लाख रुपैयाँबराबरको दुई कठ्ठा जग्गा क्याम्पसको नाममा दिएका छन् । स्थानीय, सांसद, छिमेकी उदयपुर र सिरहाका मनकारीले क्याम्पसलाई १० हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग गरेका छन् । क्याम्पसमा राजविराज, लहान र गाईघाटबाट विद्यार्थी पढ्न आउँछन् । 

स्नातक तहसम्मको क्याम्पस सञ्चालन गर्न सुरुंगा नगरपालिकासहित नगर क्षेत्रका सामान्य किसानदेखि सरकारी सेवामा रहेका कर्मचारी, सर्वसाधारण, शिक्षक, विद्यालयले सहयोग गरेको क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाले सुनाए । उनका अनुसार स्थानीयले १४ वर्षको अवधिमा क्याम्पस सञ्चालनका लागि १७ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरेका छन् ।

आर्थिक वर्ष ०७८–७९ मा सुरुंगा नगरपालिका कार्यालयबाट दुई लाख ५० हजार, त्रिभुवन विश्वविद्यालयबाट नियमित अनुदान नौ लाख ६ हजार र पुस्तक खरिदका लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको लेखापाल धमलाले बताए । क्याम्पसको आफ्नै भवन नहुँदा स्थानीय जनता माविको स्वामित्वमा रहेको भवनमा दाताहरूले गरेको आर्थिक सहयोगको भरमा क्याम्पस सञ्चालन हुँदै आएको थियो । क्याम्पसमा पढाइरहेका शिक्षकले कैयौँ महिना तलब नपाए पनि कक्षा सञ्चालन नरोकिएको स्थानीय गणेशबहादुर विष्टले सुनाए । 

पछिल्लो समय क्याम्पसमा सहयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । शिक्षकलाई नियमित तलब खुवाउन सहज हुनुका साथै तराई मधेश समृद्धि कार्यक्रममार्फत चारकोठे पक्की भवन निर्माण भएपछि आफ्नै भवनमा नियमित कक्षा सञ्चालन भइरहेको क्याम्पस सञ्चालक समितिले जनाएको छ । क्याम्पस प्रशासनका अनुसार त्रिविको सम्बन्धनअन्तर्गत क्याम्पसमा चारवर्षे बिएड र प्लस टुतर्फ शिक्षा र व्यवस्थापन संकायको कक्षा चलाउन तीन कर्मचारी तथा पूर्णकालीन र आंशिक गरी १० जना शिक्षकले अध्यापन गरिरहेका छन् ।

गाउँ छाडेर सहर र सहर छाडेर विदेश पढ्न जाने क्रम बढ्दो छ । कतिपय पुराना र नाम चलेका क्याम्पसमा नियमित पठनपाठनका लागि विद्यार्थी संख्या नपुग्दा त्रिविका आंगिक क्याम्पस आपसमा मर्ज भइरहेका वेला शिशुवारी क्याम्पसमा भने विद्यार्थी बढिरहेका छन् । ‘त्यसमा गाउँलेले पनि मिहिनेत गरिरहेका छन्,’ क्याम्पसका पूर्वअध्यक्ष अम्बरबहादुर राउतले भने, ‘प्लस टु उत्तीर्ण गरेका छोरी, बुहारी, छोरालाई सकेसम्म गाउँकै क्याम्पसमा भर्ना गर्ने, एसइई गरेकालाई पनि गाउँकै माविमा भर्ना गरेर पढाउन प्रोत्साहित गरिरहेका छौँ ।’ २०६९ सालमा स्थानीयले घरघरमा चन्दास्वरूप नगद, धान चामल संकलन गरेर क्याम्पस स्थापना गरेको थियो । क्याम्पस सञ्चालक समितिले पनि त्यसका लागि हरेक दिन मिहिनेत गरिरहेको उनले बताए । 

सञ्चालक समितिको अध्यक्षमा तेस्रो तीनवर्षे कार्यकालका लागि पुन: छत्रबहादुर राउत (राजकुमार) दोहोरिएर सिंगो समितिले क्याम्पसको विकासका लागि काम गरिरहेको गाउँले बताउँछन् । क्याम्पसको भौतिक, शैक्षिक विकासका लागि जग्गादाता, अभिभावक, स्थानीय समाजसेवीले सञ्चालक समितिलाई सहयोग गर्दै आएको स्थानीय समाजसेवी शोभित विश्वकर्माले सुनाए । समितिमा काशीकुमार कार्की, निर्मला खत्री, मानबहादुर खत्री, मीनाकुमारी मगर, प्रेमकुमारी थापामगर, दुर्गबहादुर भुजेल, टेकबहादुर राउत र सदस्य सचिवमा क्याम्पस प्रमुख तिम्सिना छन् ।

बिएडतर्फ तेस्रो वर्षको नतिजामा कोशी प्रदेशमै पहिलो : छत्रबहादुर राउत, अध्यक्ष, सञ्चालक समिति
विपन्न परिवारका विद्यार्थीले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चन्दा उठाएरै स्नातक तहसम्मको नियमित कक्षा सञ्चालन गरिरहेका छौँ । शिक्षक, कर्मचारीको महिनौँदेखिको करिब दुई लाख रुपैयाँ बक्यौता थियो । क्याम्पसमा बिंएड प्रथम वर्षमा १० जना मात्र विद्यार्थी भर्ना भएका थिए । तर, नियमित पठनपाठन भइरहेको थिएन । क्याम्पस बन्द हुन्छ कि भन्ने त्रास बढ्दो थियो । म अध्यक्ष चुनिएपछि गाउँगाउँमा चन्दा सहयोग संकलन गरी क्याम्पसको नवीकरण गरायौँ । शिक्षक कर्मचारीको बक्यौता रकम निकासा गरिदियौँ । पठनपाठन नियमित सञ्चालन गर्दै त्यही शैक्षिक सत्रमा घरदैलो अभियानमार्फत ५२ जना छोरी–बुहारी, युवालाई क्याम्पस भर्ना पनि गरायौँ । पठनपाठन नियमित सुचारु गरियो । पछिल्लो १४ वर्षको यात्रामा गाउँलेको सहयोग, क्याम्पस प्रशासनको मिहिनेत, सञ्चालक समितिको प्रयासमा आफ्नै सुविधा सम्पन्न भवन छ । दैनिक पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउन मल्टिमिडियाको उपयोग गरिरहेका छौँ । सबैको मिहिनेतको फलस्वरूप बिएडतर्फ तेस्रो वर्षको नतिजामा हाम्रो क्याम्पस कोशी प्रदेशमै पहिलो भएको छ । विद्यार्थीलाई स्नातक तहपछि भविष्यमा शिक्षण पेसामा जाने गरी शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालनसँगै कम्प्युटरको आधारभूत सीपका लागि अतिरिक्त शुल्क नलिई सिकाइरहेका छौँ । गाउँमा खुलेको क्याम्पस पढेर कैयौँ विपन्न परिवारका युवा, छोरी–बुहारीले आफूलाई अब्बल देखाएका छन् । सामान्य लेखपढ मात्र भएको गाउँमा अहिले प्राय: हरेक घरमा कम्तीमा एकजना छोरा, छोरी वा बुहारी स्नातक उत्तीर्ण भेटिन्छन् ।