जनकपुरधाम, १७ मंसिर। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन्।

IMG-20251202-WA0008

दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको पत्रमा उल्लेख गरिएको छ। अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

यादव नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएकोमा उक्त नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्रीलाई विश्वासको मत लिन र लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न आदेश दिएको थियो।

नयाँ सरकार गठनका लागि सात दल बैठक बस्ने तयारी भइरहेका छन्। कांग्रेस, जसपा, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले मिलेर सरकार बनाउन तयारी थालेको छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसको नेतृत्वमा सरकार बनाउन यी दलहरू सकारात्मक रहेको बताएका छन्।