जनकपपुरधाम, १७ मंसिर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री यादवले बुधबार अपरान्ह विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरेका हुन्।
सम्वोधनको क्रममा उनले आफ्नो बाध्यात्मक नियुक्ति भएको कारण विश्वासको मतको चिन्ता नलिएको बताए। आफू ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको बताउँदै उनले जनताप्रति उत्तरदायी भूमिका खेलेको दाबी गरे। उनले आफू मुख्यमन्त्री भएर जति दिन सम्हाले पनि त्यो संविधानको रक्षाको लागि अडिक भएर लागेको बताए।
‘संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गत बनेको सरकारले काम गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न धेरै उठ्यो,’ उनले थपे, ‘जति समय मिल्यो, त्यति समय प्रदेशबासी जनताको लागि काम गरेकै हो।’
उनले अप्ठ्यारो अवस्थामा पनि साथ दिने नवनियुक्त तीन मन्त्रीलाई धन्यवाद दिए। एक सय सात सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ। उनको पक्षमा विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिएका हुन्।
मधेस प्रदेश सभामा एमालेको २५ सिट छ। उनी कात्तिक २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।



















