सुरेश राय 

सिरहा, १६ मंसिर। कमला–कञ्चनपुर सडक विस्तारमा चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपको लापरवाही भएको आरोप लगाउँदै सिरहाका स्थानीयवासीले प्रदर्शन गरेका छन्। नरहा गाउँपालिका ३ अन्तर्गत ‘नयाँचोक चोहर्वा क्षेत्रका स्थानीयहरूले हातमा प्लेकार्ड बोकेर ६ लेन राजमार्ग, नाला तथा ओभरपास निर्माणको मागसहित सडकमा प्रदर्शन गरेका हुन्।

स्थानीय अमरनाथ यादवका अनुसार मिर्चैया–गोलबजार–चोहर्वामा ६ लेन सडक बन्ने भए पनि सदरमुकामतर्फ जाने मुख्य चोकमा कम्पनीले कुनै काम नगरेको र नाला समेत निर्माण नगरेको विरोधस्वरूप आन्दोलन गरिएको हो। 

अर्का स्थानीय बेचन महतोले वडा कार्यालयदेखि चाइना कम्पनी कार्यालयसम्म पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएकाले सडकमा आउन बाध्य भएको बताए। महतोले भने, ‘हामीले वडा कार्यालयदेखी चाइना कम्पनिको कार्यालयसम्म गएर ज्ञापन पत्र बुझाउदा पनि कुनै सुनुवाइ भइन। मिर्चैया,गोलबजार लगायतका ठाँउहरुमा नाला र ओभरपास निर्माण कार्य हुने तर सदरमुकाम जाने मुख्य चौकमै निर्माण नहुनुले हामीमाथि विभेद भएको छ। यहाँपनि ६ लेन र ओभरपास बन्नु पर्छ।’

अर्का स्थानिय रामसेवक यादवले सदरमुकामतर्फ जाने बाटोमा ओभरपास र नाला अत्यावश्यक भएको आग्रह गर्दा कम्पनीका कर्मचारीबाट उल्टै निहुँ खोज्ने र धाक–धम्की दिने गरेको बताए।

प्रदर्शनमा सहभागी स्थानीयले ‘चाइना कम्पनीको मनपरी चल्दैन, जनताको माग पूरा गर, चाइना तेरो पाराले दुःख  पायो साराले’ जस्ता नारासहित सडकमा प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केहीबेर पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्धसमेत भएको स्थानीयले बताए।

उता, कमला–कञ्चनपुर सडक परियोजनाका इन्जिनियर सरोज कोइरालाले भने स्थानीयको माग अनुसारका संरचना लागत अनुमान (स्टिमेट) मै नसमेटिएकाले निर्माण गर्न नसकिने स्पष्ट पारे। उनका अनुसार  स्थानीयको माँग चाइना कम्पनीलाई होइन, नेपाल सरकारलाई हो। परियोजनाले सरकारबाट स्वीकृत स्टिमेटअनुसार मात्र काम गर्न सक्ने बताए।

२०७७ कात्तिक २३ गते १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का पाएको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले ४७ किलोमीटर लामो कमला–कञ्चनपुर सडक विस्तारलाई पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर अघि बढाइरहेको छ। 

तर, ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी हुँदा पनि ६६ प्रतिशत मात्र सम्पन्न भएको परियोजनाले जनाएको छ। काम ढिलो भएको कारण स्थानीय, व्यापारी तथा यात्रु वर्षौंदेखि खुःख  समस्या भोग्दै आएका छन्।