काठमाडौं, ४ मंसिर। चिनियाँ ब्राण्ड अनरले आफ्नो बजेट फोन ‘अनर प्ले १०’ को नयाँ भेरियन्ट नेपाली बजार भित्र्याएको छ। कम्पनीले ४ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको यस भेरियन्टको मूल्य १२ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यसअघि कम्पनीले ३ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको भेरियन्ट ल्याएको थियो, जसको मूल्य १० हजार ९९९ रुपैयाँ छ।
एन्ड्रोइड १५ (गो एडिसन) मा चल्ने यो फोनमा १२ नानोमिटरमा बनेको मिडियाटेक हेलियो जी८१ चिपसेट र अक्टा-कोर प्रोसेसर जडान गरिएको छ। यसमा ६.७४ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ।
फोटोग्राफीका लागि फोनको पछाडि एलईडी फ्ल्याससहित १३ मेगापिक्सेलको मुख्य क्यामेरा र अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ। यसले १०८० पिक्सेलमा भिडिओ रेकर्ड गर्नसक्ने कम्पनीले जनाएको छ।
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । यसलाई चार्ज गर्न कम्पनीले १० वाटको वायर्ड चार्जर उपलब्ध गराएको छ। यसमा ‘रिभर्स वायर्ड चार्जिङ’ को सुविधा पनि भएकाले यसलाई पावर बैंकको रूपमा प्रयोग गरी अन्य डिभाइस चार्ज गर्न सकिन्छ।
१८९ ग्राम तौल भएको यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित रहने कम्पनीले जनाएको छ । सुरक्षाका लागि फोनको छेउमा फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ । कनेक्टिभिटीका लागि डुअल नानो-सिम, वाई-फाई, ब्लुटुथ ५.१, जीपीएस, एफएम रेडियो, ३.५ एमएम हेडफोन ज्याक र यूएसबी टाइप-सी २.० पोर्ट जस्ता सुविधा समावेश छन्। यो फोन ओसन स्यान र मिडनाइट ब्ल्याक गरी तीन कलर अप्सनमा उपलब्ध छ।
(टेकपानाबाट)






















