लहान, ११ कार्तिक। सिरहाको लहानमा पसलको सामान चोरी गरेको गुनासो गर्दा भएको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। लहान नगरपालिका ५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलगरी बस्ने मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो। 

कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। 

उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएका थिए। आज एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गर्दा ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।