सिरहा, १० कार्तिक। सिरहामा एक इन्सपेक्टरले ट्रान्सफर्मर चोरी तथा व्यक्तिको घर डकैतीको जाहेरी दर्ता गर्न पीडितसँग डेढ लाख रुपैयाँ घूस लिएको गम्भीर आरोप लागेको छ। पीडित पक्षले सोमबार लहानमा पत्रकार सम्मेलन गरी लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालय महेशबारीका तत्कालीन प्रमुख इन्सपेक्टर रविन राज मैनाली माथि उक्त आरोप लगाएका हुन्।
के हो घटना?
गत बैसाख ८ गते सिरहाको नवराजपुरमा ट्रान्सफर्मर चोरी भएको थियो। त्यसपछि स्थानीयले केही व्यक्तिमाथि आशंका गर्दै इलाका प्रहरी कार्यालय महेशवारीमा रामवती साहको नामबाट जाहेरी दिएका थिए। रामवती साह नवराजपुर गाउँपालिका २ का पूर्व वडाध्यक्ष खुसीलाल साहकी भाउजू हुन्। सोही दिन ट्रान्सफर्मर चोरी भएको स्थानभन्दा करिब पाँच सय मिटरको दूरीमा रहेको पूर्व वडाध्यक्ष खुसीलाल साहको घरमा पनि चोरी र डकैती भएको थियो।
जाहेरी दर्ता गर्न आलटाल र रकमको डिल
पीडितहरु जाहेरी लिएर चौकी पुगेपनि प्रहरी निरीक्षक रविन्द्र राज मैनालीले जाहेरी दर्ता गर्न नमानेको पीडितको भनाई छ।
यस विषयमा पूर्व वडाध्यक्ष साहका नातेदार (जेठान) धनगढीमाई नगरपालिका ५ का प्रमोद कुमार साहले फोनमार्फत इन्सपेक्टर मैनालीसँग जाहेरी दर्ता नभएको बारेमा सोधपुछ गरेका थिए। पत्रकार सम्मेलनमा प्रमोद साहले भने, ‘इन्सपेक्टर मैनालीले आलटाल गरेपछि मैले फोनबाटै जाहेरी दर्ता गरिदिन आग्रह गरेँ।’
त्यसको दुई दिनपछि बैसाख १६ गते इन्सपेक्टर मैनालीले प्रमोद साहलाई बरियापट्टीमा बोलाएका थिए। साहले भने, ‘त्यहाँ पुग्दा उनले जाहेरी दर्ता गर्नका लागि अढाई लाख रुपैयाँ लाग्ने कुरा गरे। मेरो सामान्य आर्थिक अवस्थाका कारण त्यति रकम दिन नसकिने बताएपछि दुई पक्षबीच मोलमोलाई भयो र अन्ततः डेढ लाख रुपैयाँ बुझाउने सर्तमा जाहेरी दर्ता गरि अनुसन्धान अगाडी बढाउने सहमति भयो।’
क्वार्टरमै बुझाइयो पैसा
प्रमोद कुमार साहका अनुसार उक्त सहमति साँझ करिब ७ः०० बजे बरियापट्टीको हुलाकी सडक किनारामै भएको थियो।
सोही रात करिब ९ बजे लक्ष्मीपुर पतारी अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय महेशबारी पुगेर इन्सपेक्टर मैनालीको क्वार्टरमै ५० हजार बुझाएको प्रमोद साहले बताए। त्यसको भोलिपल्ट लक्ष्मीपुर पातारीस्थित पोेखरभिण्डा स्कुलमा प्रहरीको लागुऔषधसम्बन्धी कार्यक्रम सकिएपछि बाँकी रहेको एक लाख रुपैयाँ निज इन्सपेक्टरलाई बुझाएको साहले बताए।
प्रमोद साह टिप्पर व्यवसायी पनि हुन् र उनले मारुति सिमेन्टको कच्चा पदार्थ ओसार्ने काम गर्छन्। उनले सिमेन्ट उद्योगबाट लिन बाँकी रकममध्ये डेढ लाख रुपैयाँ लिएर इन्सपेक्टरलाई बुझाएको उल्लेख गरेका छन्।
‘पैसा बुझाएँ, मुद्धा दर्ता भएन’
डेढ लाख रुपैयाँ बुझाए पनि इन्सपेक्टर मैनालीले ‘आज भोली’ भन्दै मुद्धा दर्ता नगरी टारेको प्रमोद साहको आरोप छ।
करिब छ महिनापछि इन्सपेक्टर मैनालीको सरुवाको चर्चा चलेपछि पीडितहरुले यो विषय बाहिर ल्याएका हुन्। प्रमोद साहले गुनासो गर्दै भने, ‘इन्सपेक्टर पनि जान लागे, जाहेरी पनि दर्ता भएन, पैसा पनि गयो। त्यसैले पत्रकार सम्मेलन गरेर विषय राखिएको हो।’
पैसा नदिई इन्सपेक्टरले कुनै पनि जाहेरी दर्ता नगर्ने गरेको र अन्य विभिन्न केशमा पनि पैसा बुझाउने व्यक्तिहरु आफ्नो सम्पर्कमा आएको उनले दाबी गरेका छन्।
यसबीचमा जाहेरी दर्ता नभएपछि पीडितहरुले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसम्म पुगेर गुनासो राखेको तर कतैबाट पनि सुनुवाई नभएको बताएका छन्।
पूर्व वडाध्यक्षको दाबी
चोरी र डकैतीबाट पीडित पूर्व वडाध्यक्ष खुसीलाल साहलाई तत्कालिन समयमा किर्ते नागरिकता सिफारिसको विषयमा अनुसन्धानको लागि घटना भएको दुई दिन अघिमात्रै (बैसाख ८ गते) प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले आफूलाई जालसाजी गरी फसाइएको दाबी गरेका छन्। उनले भने, ‘मलाई पक्राउ गरेको दुई दिनपछि ट्रान्सफर्मर चोरी भयो र त्यही समूहले मेरो घरमा पनि चोरी गर्यो। जेसीबीको सामान चोरी भयो, भकारीबाट धान समेत लुटियो। घर तोडफोड समेत भयो। तर पक्राउ परेनन्, जाहेरी पनि दर्ता भएन।’
एसपीको प्रतिक्रिया : छानविन हुन्छ
पीडितहरुले जाहेरी दर्ता गर्न डेढ लाख घूस लिने इन्सपेक्टर मैनालीलाई तत्काल निलम्बन गरी घटनाको उच्चस्तरीय छानबिन गर्न जोडदार माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले घटना सम्बन्धमा छानविन गरिने जानकारी दिएका छन्।
एसपी शर्माले भने, ‘विषय उठीसकेपछि घटनाको छानविन हुनुपर्छ। माथिल्लो निकाय जाने भए प्रदेश कार्यालयबाट पनि छानविन हुनसक्छ। त्यसैका लागि पीडितलाई निवेदन दिन पनि भनिएको छ । हामीले यसलाई सूक्ष्म रुपमा हेरेका छौँ।’
हालसम्म ट्रान्सफर्मर चोरी घटनाका दोषीहरु पत्ता लाग्न नसकेको र अनुसन्धानकै क्रममा रहेको एसपी शर्माले बताएका छन्। जाहेरी दिँदा पनि उल्टो घूस माग्नुले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ।
यसअघि पनि इन्सपेक्टर मैनाली विवादमा तानिएका थिए। नवराजपुर गाउँपालिका ३ जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदाय गत बैसाख ३ गते माइतीघरमै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेको घटनामा पनि उनको भूमिकामाथि प्रश्न उठेको थियो। मैनालीले आनन्दीदेवी मृत फेला पर्नुअघि जबरजस्ती करणी मुद्धामा उनको जाहेरी दर्ता गर्न इन्कार गरेका थिए। प्रहरीबाट न्याय नपाएकै कारण आनन्दीदेवीले प्राण त्याग्न बाध्य हुनुपरेको भन्दै सो घटनाले राष्ट्रिय रूपमै प्रहरीको चर्को विरोध भएको थियो। यसरी जाहेरी दर्तामा पटक–पटक आलटाल गर्ने र घूस माग्ने इन्सपेक्टर मैनालीको कार्यशैलीले प्रहरी प्रशासनभित्रको अनियमिततालाई पुनः एकपटक उजागर गरेको छ।
इन्सपेक्टर अधिकारीलेभने खुसीलाल साहलाई सरकारी दस्तखत मुद्दामा थुनेको रिसिवी साँध्न मेरो चरित्रहत्या गर्नेगरी आरोप लगाएको बताए। टेलिफोन सम्वादका क्रममा इन्सपेक्टर मैनालीले भने, ‘कानुन कार्यान्वयनको क्रममा गत वैशाखमा उनलाई सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा मुद्दा थियो। सोही क्रममा उनलाई २४ दिन थुनामा राखिएको थियो। त्यहि रिसिवी साँध्न लागेका हुन अरु केही होइन्।’






















