जनकपुरधाम, ७ कार्तिक। छठ पर्वका क्रममा शान्ति सुरक्षामा असर पार्ने सम्भावित गतिविधि नियन्त्रणका लागि मधेस प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार पारेको छ। पर्वको बेला विभिन्न नाममा हुनसक्ने असुरक्षालाई लक्षीत गर्दै मधेस प्रदेश प्रहरीले सो परिमाणमा प्रहरी परिचालन गर्न लागेको हो।
मधेस प्रदेश प्रहरीका डिआइजी गोविन्द थपलियाका अनुसार छठ पर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, भिडभाडमा अव्यवस्था सिर्जना गर्ने लगायतका सम्भावित घटनालाई रोक्न विशेष योजना लागू गरिएको छ।
डिआइजी थपलियाले भने, ‘प्रदेशभरका आठ वटै जिल्लामा लागू हुने गरी सात हजार प्रहरी परिचालन गरिएको छ। प्रहरी परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र नागरिक पोसाकका सुरक्षाकर्मी समेत समावेश गरिएको छ।’
थपलियाले प्रहरी बललाई घाट, तालाव, नदी किनार, बजार क्षेत्र र राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताए। उनले भने, ‘छठ पर्व आस्थासँग जोडिएको धार्मिक र सांस्कृतिक पर्व हो। त्यसैले सुरक्षाका सबै संयन्त्र जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न खटिनेछन्।’
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने व्यक्तिमाथि कडा निगरानी र कार्वाही गरिनेछ। साथै, भिडभाड हुने स्थलहरूमा सिसी क्यामेराद्वारा निगरानी, सुरक्षा चौकी र मोबाइल गस्ती टोली सक्रिय रहनेछन्।






















