सिरहा, २ कार्तिक। दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन्।
जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन–पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो।
जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा नगरिए कार्तिक १३ गतेबाट आन्दोलन गर्ने उल्लेख छ।
जेनजी औरहीले गत २०८२ आश्विन २६ गते गाउँपालिका अध्यक्ष शिवजी यादवलाई ज्ञापन पत्र बुझाएको थियो।
जेनजीले बुझाएको ज्ञापनपत्र ‘दरबन्दी बाहेक सबै कर्मचारी हटाउनुपर्ने, गाउँपालिकामा रहेको सरकारी गाडी मर्मतको नाममा भइरहेको अनियमितत रोक्नुपर्ने, सरकारी गाडीको दुरुपयोग रोक्नुपर्ने, नीजि गाडी भाडामा लिएर चढ्ने र मोजमस्ती गर्ने प्रव्रित्ति बन्द गर्नुपर्ने, भ्रष्यचार र अनियमितताको मूल जड नै अपारदर्शिता हो, तसर्थ पालिकाबाट सञ्चालन हुने दैनिक कामकाज दर्ता, चलानी, सूचना, टेण्डर , कोटेशन, बैठक, कार्यक्रम आदिको प्रतिवेदन विवरण दैनिक रुपमा सार्वजानिक गर्नुपर्ने’ उल्लेख गरेको छ।
‘गाउँ सभाबाट पारित चालु आवको बजेट यथाशीघ्र वेबसाइट र सामाजिक संजालमा राख्नुपर्ने, विद्यालयहरुको पठन–पाठन र स्वास्थ्य संस्था (हेल्थ पोस्ट) अस्पतालबाट प्रदान हुने सेवामा सधार गर्नुपर्ने’ लगाएतका माग ज्ञापनपत्रमा उल्लेख छ।
यस्तै औरही प्रिमियर लिग २०८१ पाँचौं संस्करणका लागि पेसकी लिने कर्मचारी शिक्षक उमेन्द्र यादव स्वयंमले लिगको नाममा भ्रष्टाचार भएको स्वीकार गरेका छन् । साथै खेलमा संलग्न खेलाडी दिपेन्द्र कुमार यादव स्वयंमले फेसबुक लाईभमा आएर २ लाख १४ हजार ७ सय रुपैयाँ मात्रै खर्च भएको स्पष्ट गरिसकेका छन्। यस्तो अवस्थामा भ्रष्टाचारमा संलग्न कर्मचारीहरू उपर कारवाही गर्न तथा उचित छानविनको लागि गाउँपालिकाले अख्तियारमा लेखी पठाउनु पर्ने माँग पनि जेनजीले राखेको छ।
साथै औरही प्रिमियर लिग २०८१ मा भएको अक्सनबाट खरिद भएका खेलाडीहरूको रकम पनि जेनजीको सहभागीतामा कार्तिक १२ गतेभित्र उपलब्ध गराउनु पर्ने माग गरिएको छ।