मणिलाल विश्वकर्मा

लहान, १ कार्तिक। कञ्चनपुर–कमला सडक योजनाको पश्चिम खण्डअन्तर्गतको लहान खण्डको ओभरपास निर्माण अत्यन्त सुस्त देखिएको छ । सप्तरीको कुसहादेखि सिराहाको कमला नदीसम्म पर्ने अधिकांश ठाउँमा पुल, कल्भर्ट, सडक निर्माण सकिएको भए पनि लहान खण्डको ओभरपास निर्माण सुस्त भएको स्थानीयले गुनासो गरेका छन् । लहान खण्डमा निर्माण भइरहेको ओभरपास, अस्पताल चोक र बसपार्कनजिक आकासे पुलको पाइल फाउन्डेसन सकिए पनि अन्य निर्माण ढिलाइ हुँदा मुख्य चोक क्षेत्र अस्तव्यस्त बनेको स्थानीय व्यवसायी डम्बर घिमिरेले गुनासो गरे ।

ramkumar

सहिद स्मारक भत्काएपछि अस्तव्यस्त बनेको लहानको मुख्य चोकको दायाँ–बायाँबाट एकतर्फी सवारीसाधन चलाउन डाइभर्सन बनाइएको भए पनि दुर्घटनाको जोखिमसँगै धुलो उड्ने र पानी पर्दा हिलाम्मे हुने गर्छ । सोही कारण स्थानीयले गत असारमा चक्काजामसमेत गरेका थिए । 

कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डका प्राविधिक शाखाका इन्जिनियर तथा सूचना अधिकारी सरोजकुमार कोइरालाका अनुसार जेन–जी आन्दोलन, चाडपर्व तथा त्यहीबिचमा भएको भीषण वर्षाले लहान खण्डको काम केही ढिलो भएको स्वीकार गरे । ‘अन्डरपास, ओभरपास र आकासे पुलको पाइल फाउन्डेसनलगायत मुख्य संरचनाको काम नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो,’ उनले भने, ‘त्यसबाहेक सडक क्षेत्रमा पर्ने बिजुलीका पोल समयमै नहटाइदिँदा झन् ढिलो भयो ।’ उनका अनुसार पटक–पटकको ताकेतापछि नेपाल विद्युत् प्रााधिकरणले लहान क्षेत्रमा सडकको दक्षिणतर्फको पोल हटाए पनि उत्तरतर्फ केही अझै हटाइएको छैन ।

विभागबाट समन्वय हुँदै
लहानको मुख्य चोकमा ओभरपास निर्माण गर्न ३५ मिटर गहिरो २६ वटा पाइल फाउन्डेसनको काम सकिएको छ । गत साउन मसान्तसम्म फाउन्डेसनको प्राविधिक परीक्षणपछि अन्य काम गर्नुपर्ने भए पनि निर्माण व्यवसायी कम्पनीको आर्थिक व्यवस्थापनले समस्या भएको हो । २९ अक्टोबर २०२० मा सुरु भई २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि साइट क्लिरियरेन्स, कोरोना महामारीजस्ता कारणले करिब एक वर्षपछि ढिलो काम थालिएको थियो । चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुपका लागि पहिलोपटक २३ डिसेम्बर २०२४ सम्म र अन्तिमपटक २०२५ डिसेम्बरसम्मका लागि दोस्रोपटक म्याद थप भएको छ ।

लहानको ओभरपास र मिर्चैयाको अन्डरपासको फाउन्डेसनको निर्माणपछि गत असारको अन्तिम सातादेखि रोकिएको काम २३ असोजदेखि थालिएको छ । ‘निर्माण ढिलाइ हुँदा आर्थिक नोक्सानीमा रहेको भनिएको ग्रुपका पदाधिकारीसँग निर्माणलाई तीव्रतासहित अन्य विषयमा छलफल गर्न गत २४ भदौमा तय भएको छलफल आन्दोलनको कारणले हुन सकेन,’ उनले भने, ‘त्यसपछि ग्रुपका पदाधिकारीहरू चीन फर्किएपछि साइट हेर्ने स्थानीय व्यवस्थापनसँग अर्को बैठकका लागि विभागले समन्वय गरिरहेको छ ।’

पाँच वर्षमा ६७ प्रतिशत भौतिक प्रगति
असार मसान्तसम्म करिब ६७% भौतिक प्रगति रहेको योजनाको पश्चिम खण्ड कार्यालयले जनाएको छ । मिर्चैयास्थित कार्यालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्म चार लेन सडक कालोपत्रे ३०.८५ किलोमिटर मात्रै भएको छ । बाँकी खण्ड आगामी डिसेम्बरभित्र कालोपत्रे गर्ने गरी काम भइरहेको छ ।

त्यसबाहेक लहान बसपार्क, प्रादेशिक अस्पतालअगाडि आकासे पुलका लागि १४ वटा फाउन्डेसनको काम सकिएको छ । लहान र मिर्चैयामा ओभरपासका लागि ५० वटा पाइल फाउन्डेसन गरिएको, तर लहानमा माटो केही कमजोर देखिएकाले २० वटा ग्राभेल फाउन्डेसनको काम गरिनुपर्ने सूचना अधिकारी कोइरालाले उल्लेख गरे । एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र सरकारको २८ दशमलव ७८ प्रतिशत गरी कुल आठ अर्ब ३८ करोड ९९ लाख ६८ हजार सात सय ४८ रुपैयाँ ३६ पैसा लागतमा ग्रुपले निर्माण गरिरहेको छ ।

सप्तरीको कञ्चनपुरदेखि सिराहा–धनुषा जोड्ने कमला नदीसम्मको ८६ दशमलव ८२ किलोमिटर कञ्चनपुर–कमला सडक चार लेनमा स्तरोन्नति गर्ने जिम्मेवारी ग्रुपले पाएको छ । सप्तरीको कुसहादेखि पूर्व ३९ दशमलव ४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ र पश्चिम खण्ड आठ अर्ब ३८ करोड ९९ लाख ६८ हजार सात सय ४८ मा ठेक्का सम्झौता गरेको थियो । योजनाअन्तर्गत कञ्चनपुरदेखि कमलासम्म ५४ पुल, आठ अन्डरपास र दुईवटा ओभरपासमध्ये कुसहादेखि कमलासम्मको पश्चिम खण्डमा एक सय १२ कल्भर्ट निर्माण भइसकेको भने साना–ठूला गरी २५ पुलको ढलान गरी १२ वटा पुलमा सवारीसाधन चलाउन खुला गरिएको छ ।