लहान, ३० असोज। सरोकार भएकाहरू दिगो विकासका लागि ग्रामीण महिलाको सशक्तिकरण अपरिहार्य रहेकोमा जोड दिएका छन्।
१८ औँ अन्तरराष्ट्रिय ग्रामीण महिला दिवस तथा ४५औँ अन्तरराष्ट्रिय खाद्य दिवसको अवसरमा लहान १५ हाथिदहमा आयोजित ‘कृषि रूपान्तरणमा ग्रामीण महिला र युवा किसानको योगदान र भूमिका विषयक’ अन्तरक्रियामा सरोकार भएकाहरूले ग्रामीण महिलाको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका हुन्।
लहान नगरपालिका र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालद्वारा आयोजित संयुक्त कार्यक्रममा प्रमुख अतिथि महासङ्घका महासचिव महानन्द सापकोटाले सरकारसँग सहकार्य गर्दै किसानको जीवनस्तर महासङ्घले निरन्तर प्रयास गरिरहेको बताए। उनले भने, ‘कृषि, खाद्य सुरक्षा, ग्रामीण विकास तथा गरिबी निवारणमा योगदान दिन र दिगो विकासका लागि आवश्यक वातावरणीय, आर्थिक तथा सामाजिक परिवर्तन ल्याउन ग्रामीण महिलाको सशक्तिकरण अत्यावश्यक छ।’
महासचिव सापकोटाले संरक्षण परियोजनाअन्तर्गत देशभर ४८० स्थानीय तह, ७० जिल्ला र सातै प्रदेशमा ग्रामीण महिला समूह गठन गरी उत्पादन र आम्दानीमा आत्मनिर्भर बनाउन सहयोग गरिरहेको बताए।
महासङ्घका केन्द्रीय निर्देशक केदार कोइरालाले सामुदायिक वनसँग समन्वय गर्दै संरक्षण परियोजनाअन्तर्गत कृषि र वातावरण सुधारमा गरिएको जानकारी दिए। स्थानीय महिला अगुवा विनिता चौधरीले जल, जङ्गल र जमिनको संरक्षण गर्दै पशुपालन, माछापालन र कृषि उत्पादनमार्फत महिलालाई आत्मनिर्भर बनाउन सहयोग मिलेको अनुभव सुनाए।
कोइरालो खोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्रको संरक्षणसँगै वातावरण सुधारमा महिलाको सक्रिय भूमिका रहेको बताए। लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले ग्रामीण महिलाको आर्थिक सशक्तिकरणका लागि वडाले विभिन्न सङ्घ–संस्थासँग सहकार्य गरिरहेको जानकारी दिए।
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले महिलाले सामुदायिक वनबाट उत्पादन हुने हस्तकलाका सामग्रीमार्फत आम्दानी गर्न थालेको उल्लेख गर्दै संरक्षण र जीविकोपार्जनमा उनीहरूको भूमिका प्रशंसनीय रहेको बताए।
कार्यक्रममा सन् २०२५ को नाराअनुसार ‘महिला किशोरीहरूको लागि अधिकार, समानता र सशक्तिकरण’ लाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।