जनकपुरधाम, २९ असोज। मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
आजै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपासहित ६ दलको समर्थनमा उनी मुख्य मन्त्री भएका हुन्र उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए।
आजै जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।
यद्यपि जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दिएको बताइएको छ।
मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा दुवै पक्ष पुगेपछि केही समय तनावसमेत भएको थियो।
पछिल्लो समय जनमतले सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमालेले जनमत फोडेरै भएपनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा थियो।