सिरहा, २९ असोज। मधेस प्रदेशमा कांग्रेस–एमाले बाहेका दल मिलेर सरकार गठनको कसरत चलिरहेको छ।
कांग्रेस–एमालेले समर्थन फिर्ता लिएरपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि मधेसमा कांग्रेस–एमालेलाई बाहिर राखेर नयाँ सरकार गठनको कसरत सुरु भएको हो।
कांग्रेस–एमालेले सहितले नयाँ सरकार बनाउने प्रयास गरिरहेकै बेला उनीहरुलाई नै बाहिर राखेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा लगायतका दलबीच नया समिकरणको लागि छलफल चलिरहेको छ।
‘छलफल हिजैदेखि चरिरहेको छ, हेरौँ के हुन्छ,’ माओवादी केन्द्रका एक संसदले भने, ‘आज बिहानसम्म हामी टुंगोमा पुग्छौं होला।’
कांग्रेस र एमालेले मधेसमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने तयारी अघि बढाएपछि इतर पक्षले पनि नयाँ गठबन्धनको कसरत गरेको हो।
मुख्यमन्त्री सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न बुधबार अपरान्ह चार बजेसम्मको सयम दिएकी छन्।
एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ।
प्रदेस सभामा जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ। लोसपाका एकजना सांसद निलम्बित छन्। यी पाँच दल मिले भने मधेसमा सरकार गठनको लागि बहुमत पुग्छ।
मधेसमा कांग्रेस र एमालेलाई मात्रै सरकार बनाउन बहुमत पुग्दैन। यहाँ एमालेको २५ र कांग्रेसको २२ सिट छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट छ।