सुदिप राउत 

सिरहा, २१ असोज। ७३ वर्षीय बिन्दे पासमानको यो शब्दसँगै आँखाबाट टप–टप आँसु झर्छ। चिसो जमिनमाथि, त्रिपालमुनिको त्यो एक कुनामा बसेर उनले यसपालिको दसैंको अनुभव सुनाए –जुन कहालीलाग्दो छ, पीडादायी छ।

दसैं नेपालीहरूको महान चाड हो। जहाँ सबैले निधारमा टीका लगाएर आशिर्वाद थाप्छन्, मिठा खानेकुरा खान्छन्, नयाँ लुगा लगाउँछन्। तर सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ्ग गाउँको ठुलो पोखरी डिलका दलित समुदाय बिचल्लीमा परेका थिए। उनीहरुको निधारमा टीका होइन, आँसु थियो। छानो थिएन, ओछ्यान थिएन, खाना थिएन। थियो त केवल पीडा र अन्याय।

जब देशभर रमाइलो भइरहेकै बेला अरङ गाउँका पाँच दलित परिवार चिसो भुइँमाथि, भिजेको त्रिपालमुनि सुतिरहेका थिए। ७३ वर्षीय बिन्दे पासमाले आँखाबाट आँशु खसाल्दै भने, ‘हामीलाई पनि दसैंमा मिठो खाने, नयाँ लुगा लगाउने मन थियो। तर हाम्रो छानो त आँधीले होइन, मान्छेले उडाइदियो।’ उनका अनुसार, बस्तीको झुपडी भत्काइयो, ओछ्यान भिजाइयो, भाँडाकुँडा लुटियो, अनि त्रिपाल मात्रै बाँकी रह्यो, त्यो पनि प्रशासनले दिएको।

यो घटना १ असोजको विश्वकर्मा पूजाको दिनको विवादबाट सुरु भएको हो। गाउँमा ल्याइएको आर्केस्ट्रा (पूजाको अवसरमा आयोजित सांगीतिक÷नाचगान कार्यक्रम)मा हो–हल्ला, मदिरा सेवन र जातीय अपमानका कारण दलित युवाहरू र स्थानीय प्रभाष सिंह राजपुतबीच सामान्य भनिएको विवाद भयो।

तर त्यो विवाद तत्कालै सुल्झिएन, विकराल रुप लिदै गयो। ‘तिमीहरूलाई बस्तीबाट उठाइदिन्छु’ भन्ने धम्कीसम्म आइपुग्यो। त्यसपछि  असोज ३ गते दलित समुदायले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा सुरक्षा माग गर्दै निवेदन दिए। प्रहरी आए पनि विवादको छलफल असोज १२ मा राखियो– जुन भएन। त्यसपछि फेरि छलफल असोज २१ का लागि सारियो।

तर त्यो छलफल हुनुअघि नै असोज १७ गते, शुक्रबार दिउँसो करिब २ बजे २० – २५ जनाको समूह आएर पाँच दलित परिवारका घरमा तोडफोड र लुटपाट ग¥यो। 

पीडितहरूका अनुसार, उनीहरूले पहिले नै प्रहरीलाई खबर गरेका थिए। कल्याणपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज सञ्जय शर्मा र अर्का प्रहरी बस्तीमा आए पनि उनीहरूकै अगाडि घर तोडफोड र लुटपाट भयो। पीडित सोभित पासमानले भन्नुभयो, ‘प्रहरीले एउटा शब्द पनि बोलेन, रोकेन, हेरिरहे।’ प्रहरी र प्रशासनको यस्तो उदासीनताले दलित समुदाय अझ भयभीत भयो। 

पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट मजदुरी गरेर जोहो गरिएको धानचामल, रासलाल पासमानको घरबाट दालचामल, चार आना सुन, १० तोला चाँदीका गहना र १८ हजार रुपैयाँ नगद तथा बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र तीन हजार रुपैयाँ नगद लुटिएको छ। 

त्यस्तै, भाँडाकुँडा, ओछ्यान, लत्ताकपडा, यहाँसम्म कि बगैंचामा रहेको आँप, अम्बा, केरा र कागतीका बोटसमेत फोडिएको पीडितहरू बताउँछन्। अर्का पीडित राजकुमार पासमान भन्छन्,  ‘हाम्रो पसिना सुकाएर जोहो गरेको धानचामल, सुनचाँदी, नगद सबै लग्यो। दसैं त परै जाओस्, एक छाक खान पनि मुस्किल भयो।’ उनका अनुसार, पाँचवटा परिवारका तीसजनाको परिवार जीवन एकैछिनमा लथालिङ्ग भयो। जताततै पानी, चिसो र डर। कुनै ओत छैन, कुनै सहारा छैन।

प्रहरीकै उपस्थितिमा भएको यो घटनामा संलग्न रहेको भनिएका व्यक्तिहरूमध्ये प्रभाष सिंह ‘ज्यान मार्ने उद्योग’ तथा चन्द्रदीप सिंह र लक्ष्मी सिंह ‘अनुचित लेनदेन’ मुद्दाका फरार प्रतिवादी रहेको प्रहरी रेकर्डमा उल्लेख गरिएको छ।

घटनाको खबर बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा घट्नाको भोलीपल्ट शनिबार बस्तीमा पुगे। पीडित परिवारका अनुसार, स्थलगत अनुगमनपछि पाँच परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरिएको थियो। त्यसैको सहारामा लगातारको भारी वर्षा झेलेको उनीहरु बताउँछन्।  

१३ जनाविरुद्ध जाहेरी

बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ। पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार अपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन्। उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिहरूलाई तोडफोड, लुटपाट र भिड उक्साएको आरोप लगाएका छन्। 

वडाध्यक्षसहति तीन जना पक्राउ, अन्य फरार

प्रहरीले वडाध्यक्ष यादवलाई भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ। यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए। 

पीडित परिवारलाई नगरपालिकाको राहत

पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, पाँच किलो चिउरा, पाँच किलो मुरही, एक किलो सोयाबिन, पाँच—पाँच किलो आलु, प्याज, आटा, साथै तेल, नुन, बेसार, अदुवा, लसुन, दालमोठ, बिस्कुट, लुगा धुने साबुन, नुहाउने साबुन, मिक्स मसालालगायत सामग्री वितरण गरिएको हो। 

पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले भने,  ‘अहिले हामीले उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौं, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ।’