काठमाडौं, २१ असोज। प्रमुख आयुक्त प्रेमकुमार राईसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा माग्दै जेनजी युवाहरूको एक समूहले मंगलबार बिहान अख्तियारकै कार्यालयमा दबाबपत्र बुझाएका छन्। उनीहरूले ‘जेन–जेड मुभमेन्ट अलायन्स’को नाममा अख्तयारमा दबाबपत्र दर्ता गराएका हुन्।
आज बिहानै टंगालस्थित अख्तियारको कार्यालय पुगेर दबाबपत्र दर्ता गराइएको आशुतोष झाले जानकारी दिए।
दवाव पत्रमा ‘तपाईंलगयत अरू सम्पूर्ण आयुक्तको नियुक्ति संसदिय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ। यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ।’ भन्ने उल्लेख गरिएको छ।
पत्रमा अगाडि भनिएको छ, ‘साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ। विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला। तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन। यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।’