महोत्तरी, २० असोज। निरन्तर वर्षाले आएको बाढीको कारण महोत्तरी सदरमुकाम जलेश्वरका दर्जन बढी कार्यालय जलमग्न भएको छ। बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा बिजुलीसमेत अवरुद्ध छ।
लगातारको वर्षाको कारण सदरमुकाम जलेश्वर जोड्ने जलेश्वर बर्दिबास, जलेश्वर जनकपुर, जलेश्वर मटिहानी लगायतका क्षेत्रको सडक अवरुद्ध छ। जलेश्वरमा बाढी पसेर जलेश्वर, प्रादेशिक अस्पताल जलेश्वर, विद्युत प्राधिकरण जलेश्वर शाखा तथा सबस्टेशन, नगरपालिका कार्यालय, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतका कार्यालयहरुमा पानी पसेको छ।
विद्युत् सबस्टेशनमा बाढी पसेकाले तीन दिनदेखि जलेश्वर क्षेत्रको विद्युत् अवरुद्ध छ। स्थानीय दीपेन्द्र चौधरीले शनिबार दिनभरी काटिएको बिजुली आइतबार दुई घण्टाको लागि आए पनि सबस्टेशनमा बाढी पसेपछि पुनः अवरुद्ध भएको जानकारी दिए।
अविरल वर्षाका कारण महोत्तरीको विभिन्न क्षेत्रमा बाढी र डुबान भए पनि आइतबार रातिदेखि पानी पर्ने क्रम रोकिएको छ। डुबान विस्तारै कम हुन थालेको छ। शनिबारदेखि लगातार परिरहेको पानीले महोत्तरीका नदीहरुमा जलस्तर बढ्नुका साथै विभिन्न ठाउँका तटबन्धहरु कटान गरेको छ। तटबन्ध कटान पछि बाढी जलेश्वरको बस्तीमा प्रवेश गरेको थियो।
लगातारको वर्षाले महोत्तरीको रातु, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका दर्जनबढी खोला तथा नदीमा जलस्तर बढेपछि रातु नदीले रतवारमा २० मिटर बाँध कटान भएको छ। त्यसैगरी एकडारा, बलवा तथा जलेश्वर नगरपालिका ३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरेपछि जलेश्वरमा बाढी आएको प्रहरीले बताएको छ।
रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको थियो। जसका कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र, जलेश्वरको अस्पताल चोक, जिरोमाइल चोक, बसस्टेण्डचोक डुबानमा परेको छ।
बाढीको कारणले जिल्लाको सदरमुकाम जलेश्वरसँग धेरै पालिकाको सडक अवरुद्ध भएको छ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले सुगा गाउँभन्दा पूर्व रहेको लचका भएर दुई फिटभन्दा बढी पानी बगिरहेकाले जलेश्वर मटिहानी आउन पैदल यात्रीहरुलाई समस्या भइरहेको जानकारी दिए। पानी घट्ने क्रममा रहेकाले सडक चाँडै सञ्चालनमा आउन सक्ने पनि उनले बताए।