विराटनगर १८ असोज। तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जाकारी दिए। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवाबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको जिप शनिबार अपरान्ह  दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो।

जिप तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका ३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब पाँचसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिपमा चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य छ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिए।

घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ। घाइते र मृतकहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।