फाईल फोटो।

काठमाडौं, १८ असोज। निरन्तर वर्षाका कारण पहिरो खसेर  बाटो अवरुद्ध घएपछि काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ।

प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध पछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन्।

नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान १० बजे सम्म २ सय गाडी काठमाडौं फर्किसकेका छन्।

‘शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै हामीले माइकिङ गरिरहेका छौं; हाम्रो अनुरोध पछि गाडीहरु  काठमाडौं फर्कन थालेका हुन्।’ ट्राफिक प्रहरीले भने।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ। ‘हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक–सहचालक सबैमा हार्दिक कृृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ माइकिङमा भनिएको छ, ‘तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी।’