काठमाडौं, १७ असोज। मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ। जनमत नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको छ।
एउटा मात्र दलको सरकार बन्ने सम्भावना नरहेकाले कांग्रेस–एमालेसहित र कांग्रेस–एमाले इतरको गठबन्धनको प्रयास भइरहेको नेताहरु बताउँछन्।
नेपाली कांग्रेस र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई मनाएर सरकार बनाउने कसरतमा छन्।
मधेश प्रदेशमा कांग्रेसकी सांसद अंजना पंडित नयाँ सरकार गठनका लागि छलफल चलिरहेको बताउँछिन्। ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ होला। एमालेसँग छलफल भइराखेको छ’ उनी भन्छिन्, ‘बन्ने गठबन्धनकै सरकार हो।’
मधेशको अङ्कगणित
मधेश प्रदेश सरकारमा सबैभन्दा ठूलो दल एमाले हो। एमालेका २५ जना सांसद् छन्। दोस्रो ठूलो दल कांग्रेसका २२ जना सांसद् रहेका छन्।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ। कांग्रेस–एमाले मिल्दा ४७ मत पुग्छ।
प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रका ९–९ जना छन्।
नेकपा एकीकृत समाजवादीका ७ जना छन्। नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक–एक जना छन्।
कांग्रेसकी सांसद अंजना पंडितले भनेअनुसार कांग्रेस र एमालेलाई लोसपाले साथ दिएको खण्डमा नयाँ सरकार बनाउन आवश्यक संख्या पुग्छ।
महन्थ ठाकुरले मधेशमै पुगेर गरे छलफल
तर सरकारको नेतृत्वमा लोसपाले पनि दाबी गरेको छ। नयाँ सरकार गठनको सन्दर्भमा छलफल गर्न लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर मधेशमै पुगेका थिए।
उनी विभिन्न पार्टी र आफ्नै पार्टीका नेताहरुसँग छलफल गरेर काठमाडौं फर्किएका छन्। अब केन्द्रीय स्तरमा नेताहरूसँग छलफल गरेर ठाकुरले निर्णय लिएपछि नयाँ सरकार गठनको गृहकार्य थप अगाडि बढ्ने नेताहरुको भनाइ छ।
लोसपाका प्रदेश सांसद उपेन्द्र महतो केन्द्रीय अध्यक्ष ठाकुरले निर्णय गरेअनुसार अगाडि बढिने बताउँछन्। ‘नेतृत्व लिने वा नलिने, नेतृत्व लिँदा कसलाई मुख्यमन्त्री बनाउने र नेतृत्व नलिँदा के गर्ने भन्ने विषयमा केन्द्रीय अध्यक्षले निर्णय दिनुहुन्छ। त्यसअनुसार हामी अगाडि बढ्छौं’ प्रदेश सांसद महतोले अनलाइनखबरसँग भने।
कांग्रेस–एमाले इतरको पनि गठबन्धन प्रयास
प्रदेश सांसद महतोका अनुसार सरकार गठनका दुई विकल्पमा छलफल भइरहेको छ। कांग्रेस–एमालेसहितको एउटा गठबन्धनको प्रयास भइरहेको छ। अर्कोतर्फ कांग्रेस–एमाले बाहेकका सबै दलको गठबन्धन सरकार बनाउने पनि प्रयास भइरहेको छ।
दुवै खालको गठबन्धनको प्रयास गर्नेहरूले लोसपालाई नै सरकारको नेतृत्व दिन तयार रहेको सांसद महतोको दाबी छ।
यही असोज ८ गते नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह अल्पमतमा परेका छन्।
(अनलाईनखवरबाट)