राजविराज, १४ असोज। सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ। भारतको मधुबनी जिल्ला घर भएका ३६ वर्षीया लल्तो सदाको माइती डाक्नेश्वरी नगरपालिका ९ आएको बेला सर्पदंशबाट मृत्यु भएको हो।
सोमबार राति करिब १२ बजेतिर दाजु श्रवण सदाको घरमा खाना खाइरहेका बेला दुल्लोबाट निस्किएको सर्पले खुट्टामा टोकेको थियो। सर्प दंशबाट घाइते सदालाई तत्कालै कल्याणपुरस्थित श्री बरखगण सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिरहाको लहानस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। तर, उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बर पुरीले जानकारी दिए।