सीताराम बराल 

काठमाडौं, १२ असोज। यस पटक पनि फूलपातीको अघिल्लो दिन ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गरे। २०५८ मा गद्दीमा बसेयता विजयादशमीको अवसरमा शुभकामना सन्देश दिन थालेका शाहले त्यो चलनलाई २०६५ मा नारायणहिटी छाडेयता पनि जारी राखेका छन्।

4x10 dashain banner copy1

तर, शाहको गतसालको शुभकामना सन्देश र यसवर्षको शुभकामना सन्देशमा केही फरक देखिन्छ। त्यसमध्ये एक हो– गत सालको शुभकामना सन्देश सामान्य कागजमा प्रिन्ट गरिएको थियो, यसपटकको शुभकामना सन्देश भने नेपाली कागजमा प्रिन्ट गरिएको छ। 

गतसालको शुभकामना सन्देशमा शाहको ठेगाना पनि उल्लेख थिएन, त्यसअघिका सन्देश वा विज्ञप्तिमा पनि ठेगाना हुँदैनथ्यो। यसपटक भने महाराजगञ्जस्थित ‘निर्मल निवास’ ठेगाना उल्लेख गरिएको छ। साथै राजतन्त्रकालीन प्रतीक चिन्हसमेत प्रयोग गरिएको छ।  

उपरोक्त ‘प्राविधिक’ विषयबाहेक गतसाल र यसपटकका शाहका शुभकामना सन्देशमा थप फरकपना भेट्न सकिन्छ। यसमध्ये सबैभन्दा महत्त्वपूर्ण फरक भनेको ‘राजनीतिक सन्देश’ हो। 

गतसाल शुभकामना दिँदा उनले गद्दीमा रहेको राजा जसरी नै उनको परिचय ‘श्री ५ महाराजधिराज’ उल्लेख गरिएको थियो। यसपटक गद्दीमा रहेका राजा जसरी परिचय दिनुसाटो ‘पूर्व श्री ५ महाराजधिराज’ का रूपमा प्रस्तुत गरिएको छ।    

‘पूर्व श्री ५’, ‘श्री ५’ र फेरि ‘पूर्व श्री ५’
२३–२४ भदौको ‘जेन जी’ आन्दोलनमा जनधनको ठूलो क्षति भएपछि पनि पूर्वराजाको तर्फबाट विज्ञप्ति जारी गरिएको थियो। पूर्वराजा शाहलाई प्रतिनिधित्व गरे पनि विज्ञप्ति आफ्नै नाममा नभई उनका ‘सम्वाद सचिवालय’ को तर्फबाट जारी भएको थियो। 

‘जेन जीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोरकिशोरी र युवायुवतीहरूले यही भाद्र २३ गते काठमाडौँ लगायत देशका धेरैजसो सहरहरूमा विरोध प्रदर्शनमार्फत् पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो,’ सम्वाद सचिवालयको तर्फबाट जारी २४ भदौको विज्ञप्तिमा भनिएको थियो, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ, यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत रहेको छ।’ 

‘घटनामा ज्यान गुमाएका ती होनहार आत्माप्रति पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लगायत सम्पूर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सँदै तिनका अविभावकजनमा समवेदना बक्सेको छ,’ विज्ञप्तिमा भनिएको थियो, ‘समस्त घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ।’ 

‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस्’ भन्ने धारणा रहेको उल्लेख गर्दै विज्ञप्तिमा ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस्’ भन्ने पूर्वराजाको चाहना पनि उल्लेख थियो। 

यसपटक विजयादशमीको शुभकामनाका लागि जारी सन्देशमा पनि ‘जेन जी’ आन्दोलनको प्रभाव देखिन्छ। जस्तो कि, विज्ञप्तिमा त्यसैतर्फ संकेत गर्दै ‘राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको उल्लेख गर्दै यस वर्षको दसैँ निर्मल निवासमा पारिवारिक र सांस्कृतिक रूपमा मात्रै मनाइने र पहिलेजस्तो टीका–जमरा प्रदान नहुने’ जानकारी गराइएको छ। 

केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका कारण आक्रोशित ‘जेन जी’ पुस्ता २३ भदौमा प्रदर्शनमा उत्रेको थियो। सामाजिक सञ्जालमाथि प्रतिबन्धले यो पुस्तालाई सडकमा ओर्लन बाध्य पारे पनि उनीहरूको माग भ्रष्टाचारको विरोध र अनियमितता विरुद्ध थियो। 

‘जेन जी’ पुस्ता शासन सत्तामा पटक–पटक दोहोरिइरहने नेताहरूप्रति पनि आक्रोशित थिए। उनीहरूको आक्रोश पुराना राजनीतिक दल र शक्तिहरूप्रति पनि थियो। 

‘जेन जी’ पुस्ताको ‘पुराना’हरूप्रतिको आक्रोशबाट पूर्वराजा पनि सतर्क रहेजस्तो यसपटकको ‘शुभकामना सन्देश’ बाट देखिन्छ। त्यही कारण उनले यसपटकको शुभकामना सन्देशमा ‘शाह वंश’को महिमा र उदारतापूर्वक नारायणहिटी परित्याग गरेको प्रसङ्ग उल्लेख गरेका छैनन्।  

पोहोरसम्मका सन्देशर्‍विज्ञप्तिमा भने पूर्वराजा शाहले आफूले ‘हाँसीखुसी नारायणहिटी छाडेको’ र ‘नेपाल राष्ट्रको निर्माण शाह वंशले गरेको’ उल्लेख हुने गथ्र्याे। विजया दशमीको अवसरमा २३ असोज २०८१ मा जारी शुभकामना सन्देशमा पनि उनले शाहवंशीय भूमिकाको चर्चा गरेका थिए।

‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी छाडेका थियौँ,’ गतसाल विजया दशमीको अवसरमा जारी विज्ञप्तिमा भनिएको थियो, ‘तर दुई दशक पूरा हुनैलाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ।’ 

शाह वंशको महिमा साटो उनले ‘जेन जी’ पुस्ताको चाहना समेट्नुपर्ने विषय यसपटकको शुभकामना सन्देशमा उठाएका छन्। 

‘युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ हुन्, उनीहरूमा निहित देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ,’ उनको सन्देशमा भनिएको छ, ‘जे जे नहुनु थियो, त्यो सबै भयो, अबको नयाँ पुस्ता आउँदै गरेको समय आशा र विश्वास भरोसाका साथ अघि बढोस्।’ 

राजतन्त्रकालीन ‘प्रतीक चिन्ह’को मोह
पूर्वराजा शाह गत वैशाखसम्म पनि आफूलाई ‘श्री ५ महाराजधिराज’ कै रूपमा प्रस्तुत गरिरहेका थिए। १ वैशाख (२०८२) मा जारी विज्ञप्तिलाई ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नयाँ वर्ष २०८२ को उपलक्ष्यमा बक्सेको सन्देश’ भनिएको थियो। 

एकजना नेपालीसहित २६ तीर्थयात्रीको ज्यान जानेगरी जम्मु–कस्मिरको पहलगाममा भएको आतंकवादी हमलाका सन्दर्भमा उनका सम्वाद सचिव डा. फणिराज पाठकले १३ वैशाखमा जारी गरेको विज्ञप्तिमा पनि पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ का रूपमा नै प्रस्तुत गरिएको थियो।
 
यसबाहेक पूर्वराजा शाहको ७९ जन्मदिवस (२३ असार) मनाइने सन्दर्भमा पनि सम्वाद सचिव डा. पाठकले विज्ञप्ति जारी गरेका थिए, १३ असार (२०८२) मा जारी विज्ञप्तिमा पनि उनलाई ‘श्री ५ महाराजधिराज’ नै उल्लेख गरिएको थियो। 

खासमा पूर्वराजासँग सम्बन्धित विज्ञप्तिहरूमा २०७८ अघिसम्म ‘पूर्व श्री ५ महाराजधिराज’ नै उल्लेख गर्ने गरिन्थ्यो। २९ जेठ २०६५ मा नागार्जुन दरबारतर्फ लाग्नुअघि नारायणहिटी दरबारमा आयोजित पत्रकार सम्मेलनमा वाचन गरिएको पूर्वराजा शाहको विज्ञप्तिमा पनि ‘पूर्व श्री ५ महाराजधिराज’ शब्दावली उल्लेख थियो। 

गणतन्त्र स्थापनापछिका झण्डै १३ वर्ष शाहले यसरी आफूलाई ‘पूर्व श्री ५ महाराजधिराज’ कै रूपमा चिनाउन चाहे। तर, ‘नेकपा’ विभाजनसँगै जब राजनीतिक अस्थिरताको सम्भावना देखियो, त्यसपछि विस्तारै गद्दीमै रहेका राजा जसरी ‘श्री ५ महाराजधिराज’ का रूपमा पूर्वराजा शाहलाई प्रस्तुत गर्न थालियो। 

देशका विभिन्न भागमा जाँदा निर्माण गरिने स्वागतद्वार र अभिनन्दन पत्रहरूमा पनि ‘श्री ५ महाराजधिराज’ उल्लेख हुन थाल्यो। 

गणतन्त्र स्थापना अघिसम्म ‘श्री ५ महाराजधिराज’ ले राष्ट्राध्यक्षको परिचय दिन्थ्यो। गणतन्त्रमा समेत राष्ट्राध्यक्षको झल्को दिने गरी पूर्वराजा शाहलाई प्रस्तुत गर्न थालिएपछि सरकार कठोर रूपमा प्रस्तुत हुन थाल्यो। 

पूर्वराजाको तर्फबाट प्रकाशित–सार्वजनिक हुने आधिकारिक विज्ञप्तिहरू सबैभन्दा पहिले उनका सम्वाद सचिव पाठकको तर्फबाट सार्वजनिक हुन्थे, जो राजतन्त्रकालमा तत्कालीन राजप्रासाद सेवाका सचिव र तत्कालीन राजा ज्ञानेन्द्रका सम्वाद सचिवको जिम्मेवारीमा थिए। 

राजतन्त्रात्मक व्यवस्था रहेको सन्देश जाने खालका गतिविधि र विज्ञप्ति जारी हुन थालेपछि गत असार २६ गते सम्वाद सचिव पाठकलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँमा बोलाइएको थियो। दिनभरि कार्यालयमा राखिएका उनीसँग प्रहरी अधिकारीहरूले बयान समेत लिए। 

त्यसक्रममा पाठकसँग राजावादीहरूको १५ चैत्रको विध्वंसात्मक प्रदर्शनमा निर्मल निवासको संलग्नताबारे पनि सोधपुछ गरिएको थियो। सो घटनामा निर्मल निवासको समेत संलग्नता रहेको सरकारको आशंकाका कारण पूर्वराजपरिवारका कतिपय सदस्य मुछिने संकेत पाएपछि ‘आइन्दा श्री ५ महाराजधिराज’ शब्दावली प्रयोग नगर्ने प्रतिबद्धता पाठकले गरे। 

प्रहरीसँगको उपरोक्त प्रतिबद्धतालगत्तै पाठकले पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ शब्दावली प्रयोग गरिएका सम्पूर्ण पुराना पोस्ट आफ्नो फेसबुक पेजबाट समेत हटाए। त्यसयता पूर्वराजाको तर्फबाट खासै कुनै विज्ञप्ति–सन्देश जारी गरिएनन्। यसबीचमा सम्वाद सचिव पाठक पनि मौन रहे। 

जब २३–२४ भदौको घटनामा ठूलो जनधनको क्षति भयो, त्यसपछि २४ भदौ अपरान्ह जारी विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज’को साटो ‘पूर्व श्री ५ महाराजधिराज’ शब्दावली प्रयोग गरेर विज्ञप्ति जारी गरियो। विजया दशमीको अवसरमा जारी शुभकामना सन्देशमा पनि ‘पूर्व श्री ५ महाराजधिराज’ शब्दावलीलाई निरन्तरता दिइएको छ। 

यद्यपि, विज्ञप्तिको बायाँतर्फ रहेको ‘षट्कोणसहितको खड्ग’ भने राजतन्त्रकालमा राजाहरू प्रयाग गर्ने ‘प्रतीक चिन्ह’ हो। नारायणहिटी छाडेपछि उनको सन्देशर्‍विज्ञप्तिमा राजतन्त्रकालीन यो प्रतीक चिन्ह प्रयोग भएको चाहिँ सम्भवतः पहिलो पटक हो।