जनकपुरधाम, १० असोज। धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। एक जना किशोर गम्भिर घाइते भएका छन्। 

गएराति कमला नगरपालिका २ खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाकै जनकनन्दिनी गाउँपालिका ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको हो। दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो।

 जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोटसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको हो। 

कमला नगरपालिका ३ लगमा बजारमा आयोजीत झिझिया नाच हेर्न जाँदै गरेका किशोरहरु दुर्घटनामा परेको प्रहरीले बताए। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ। 

दुर्घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए। 

maunt